स्थापना दिवसको अवसरमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सम्पन्न
हेटौंडा । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको २६औँ स्थापना दिवसको अवसरमा आयोजित निःशुल्क वृहत् स्वास्थ्य शिविर आज हेटौंडा उपमहानगरपालिका वडा नं. १८ स्थित ज्योति माध्यमिक विद्यालय, हर्नामाडीमा सफलतापूर्वक सम्पन्न भएको छ।
टोल विकास संस्था नगर समन्वय समितिको आयोजना, हेटौंडा उपमहानगरपालिका वडा नं. १८ को सहयोग, सामुदायिक प्रहरी सेवा केन्द्रको सहआयोजना, मकवानपुर सहकारी अस्पतालको प्राविधिक सहयोग तथा टोल विकास संस्था वडा समन्वय समिति वडा नं. १८ को व्यवस्थापनमा सम्पन्न उक्त शिविरबाट ४३८ जना सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित आयोजकले जनाएको छ ।
टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा वडा नं. १८ का वडा अध्यक्ष अनिल बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मकवानपुर सहकारी अस्पतालका अध्यक्ष नरोत्तम दाहाल, वडा सदस्य योगराज खतिवडा, अस्पतालका व्यवस्थापक अर्जुन भट्टराई, ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेल, टोल विकास संस्था वडा समन्वय समिति वडा नं. १८ का अध्यक्ष विमला बिसंखे, सल्लाहकार सीता विष्ट, वडा सदस्यहरू तथा विभिन्न सामाजिक एवं सामुदायिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
शिविरमा वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. सुन्दरकुमार श्रेष्ठ, वरिष्ठ मुटु रोग विशेषज्ञ डा. मनोज श्रेष्ठ, युरो सर्जन डा. मोहम्मद कौसर, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. पारसराज अमात्य, जनरल फिजिसियन डा. विजय साह कानु,सर्जन विशेषज्ञ डा. रामविद्या चौधरी, जनरल फिजिसियन डा. उदित आचार्य तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रूकैया प्रविण लगायतका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गर्नुभएको थियो ।
शिविरमार्फत स्वास्थ्य परीक्षण, विशेषज्ञ परामर्श, ईसीजी सेवा, प्रयोगशाला परीक्षण तथा निःशुल्क औषधि वितरणलगायतका सेवाहरू प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष अनिल बानियाँले यस्ता स्वास्थ्य केन्द्रित कार्यक्रमहरूले समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै नागरिकको घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने कार्य प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। उहाँले टोल विकास संस्थाले सामाजिक विकास, सरसफाइ, वातावरण संरक्षण तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी समुदायमा सकारात्मक परिवर्तन ल्याइरहेको बताउनुभयो।
कार्यक्रमका अध्यक्ष तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले स्वास्थ्य नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति भएकाले प्रत्येक नागरिक स्वास्थ्यप्रति सचेत, जिम्मेवार र संवेदनशील हुनुपर्ने बताउनुभयो । उहाँले शिविरमा उत्साहजनक सहभागिता जनाई कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण सेवाग्राही, चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, जनप्रतिनिधि, सहयोगी संस्था तथा स्थानीयवासीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।
अध्यक्ष अधिकारीले टोल विकास संस्थाले समुदायमा स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, प्लास्टिक न्यूनीकरण, नेतृत्व विकास तथा सामाजिक सचेतनाका विभिन्न अभियानहरू निरन्तर सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले उक्त स्वास्थ्य शिविर पनि संस्थाको २६औँ स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको जानकारी दिँदै आगामी दिनहरूमा समेत समुदायको आवश्यकताअनुसार यस्ता जनहितकारी कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्वास्थ्य सेवाको पहुँच समुदायस्तरसम्म विस्तार गर्ने, समयमै रोगको पहिचान तथा उपचारमा सहयोग पुर्याउने र नागरिकहरूमा स्वास्थ्यप्रति जागरण अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविर अत्यन्त प्रभावकारी, उपलब्धिमूलक र सफल भएको आयोजकले जनाएको छ ।





















