मकवानपुरमा वन डढेलो नियन्त्रण प्रयास प्रभावकारी
हेटौंडा । मकवानपुर जिल्लामा यस वर्ष हालसम्म वन डढेलोका कारण ठूलो क्षति नभएको दाबी गरिएको छ । डिभिजन वन कार्यालय मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।
डिभिजन वन कार्यालयका प्रमुख राकेश प्रसाद चन्द्रवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन डढेलो नियन्त्रणका लागि प्रारम्भिक चरणदेखि नै प्रभावकारी पूर्वतयारी, जनचेतना अभिवृद्धि तथा निगरानी प्रणाली सुदृढ गरिएकाले डढेलोका घटना न्यून रहेको जनाइएको छ ।
कार्यालयका अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न वन क्षेत्रमा जनचेतनामूलक गतिविधि सञ्चालन गर्नुका साथै जोखिमयुक्त क्षेत्रको पहिचान, निगरानी संयन्त्र सुदृढीकरण तथा स्थानीय समुदायसँग समन्वय विस्तार गरिएको छ । सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गर्दै सम्भावित जोखिम क्षेत्रहरूमा सरसफाइ, सचेतना फैलाउने तथा आगो नियन्त्रणका उपकरण तयारी अवस्थामा राखिएको जानकारी दिइएको छ ।
कार्यक्रममा वन अधिकृत हेमकुमार पाठकले वन डढेलो नियन्त्रणका लागि विगतमा गरिएका प्रयास तथा आगामी रणनीतिबारे प्रस्तुति दिनुभएको थियो । उहाँले वन डढेलोका प्रमुख कारण मानवीय लापरबाही, जथाभावी आगो बाल्ने प्रवृत्ति, अव्यवस्थित घाँस दाउरा संकलन तथा मौसमीय प्रभाव रहेको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि समुदायस्तरमै सचेतना आवश्यक रहेको बताउनुभयो ।
आगामी दिनमा तापक्रम वृद्धि र सुख्खा मौसम लम्बिँदै जाने भएकाले डढेलोको जोखिम बढ्न सक्ने भन्दै कार्यालयले थप सतर्कता अपनाउने जनाएको छ । यसका लागि नियमित गस्ती, अग्नि रेखा निर्माण, द्रुत उद्धार टोली तयारी तथा आवश्यक उपकरण व्यवस्थापनलाई प्राथमिकता दिइने बताइएको छ ।
कार्यक्रममार्फत सर्वसाधारणलाई वन क्षेत्रमा जथाभावी आगो नबाल्न, डढेलो देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन तथा वन संरक्षणमा सक्रिय सहयोग पुर्याउन आग्रह गरिएको छ । वन संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न वन डढेलो नियन्त्रण सबैको साझा जिम्मेवारी भएको कार्यक्रममा जोड दिइएको थियो ।






















