आज र भोलि ठूलो वर्षा र हावाहुरीको सम्भावना
काठमाण्डौ । आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो वर्षा र हावाहुरीको सम्भावना रहेकाले सचेत रहन मौसमविद्हरूले आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाकाअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा ठूलो वर्षा र हिमपातको सम्भावना छ । साथै दाङ, नेपालगञ्ज र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा तीव्र गतिमा हुरी चल्ने अनुमान छ ।
भोलिसम्म विराटनगर, धनकुटा र धरान आसपासका ठाउँमा ११९ किलोमिटर प्रतिघण्टाको गतिमा तीव्र हुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । हुरीका कारण रुख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेकोले सचेत हुन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।






















