हेटौंडा नगरप्रमुख लामाले मागिन् माफी
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मीना कुमारी लामाले विद्यार्थीप्रति राखेको अभिव्यक्तिका कारण उत्पन्न विवादपछि सार्वजनिक माफी मागेकी छन् ।
भदौ २३ गते जेनजी आन्दोलनका क्रममा विद्यार्थीले गुनासो राख्न उपमहानगरपालिकामा पुग्दा नगरप्रमुख लामाले दिएको प्रतिक्रियापछि आलोचना चुलिएको थियो । सो घटनापछि आइतबार विज्ञप्ति जारी गर्दै उनले आफ्ना शब्द र शैलीका कारण विद्यार्थीको मन दुखेको रहेछ भने माफी चाहेको उल्लेख गरेकी छन् ।
‘विद्यार्थी भाइबहिनीहरूको मन दुखाउने कुनै उद्देश्य मेरो थिएन । तर मेरो शब्द र शैलीका कारण चोट पुगेको रहेछ भने माफी चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ।
लामाले विद्यार्थीहरूको पक्षमा सधैं खडा रहने प्रतिबद्धता जनाउँदै शैक्षिक, सामाजिक र सिर्जनात्मक अभियानमा निरन्तर साथ दिने आश्वासन दिएकी छन्। साथै, महिलाप्रति, जनजाति समुदायप्रति र विविधतालाई सम्मान गर्ने आफ्नो अडान दोहोर्याउँदै विगतका कमजोरी आत्मसात गरेर अघि बढ्ने प्रतिज्ञा गरेकी छन् ।
उनले विद्यार्थीले उठाएका मुद्दा र मागलाई सम्बोधन गर्न संवेदनशीलतापूर्वक लाग्ने स्पष्ट पारेकी छन् ।
यसअघि भदौ २४ गते नगरप्रमुख लामाको अभिव्यक्ति विभेदपूर्ण भएको भन्दै मधेसका विद्यार्थी आन्दोलित बनेका थिए । उनीहरूले उपमहानगरपालिकाको गेट अगाडि प्रदर्शन गर्दै लामासँग माफी माग्नुपर्ने माग राखेका थिए। सोही दिन प्रदर्शनकै क्रममा लामाको निवासमा समेत आगजनी गरिएको थियो ।
























