असोज १ गते शोक दिवसको घोषणा
काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा आउँदो असोज १ गतेलाई शोक दिवसको रूपमा मनाउने निर्णय गरेको छ। यस दिन सार्वजनिक बिदा पनि दिइने भएको छ।
सोमबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त निर्णय गरेको हो। गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गरी राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय पनि बैठकबाट पारित भएको छ ।
सरकारले शहीद घोषित व्यक्तिका परिवारलाई १५ लाख रुपैयाँ राहत दिनेछ भने आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइनेछ। साथै, शव व्यवस्थापनका लागि निःशुल्क सवारी साधन र दुर्गम क्षेत्रमा हेलिकप्टरको व्यवस्था गर्ने निर्णय पनि गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले आन्दोलनका क्रममा भएको जनधनको क्षति, ज्यादती र घुसपैठबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णयसमेत गरेको छ।
त्यस्तै, भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा ‘जेनजी जागरण स्मारक पार्क’ स्थापना गरिनेछ।
बैठकले अघिल्लो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा पेश गरेका सबै प्रस्ताव फिर्ता लिने निर्णय पनि गरेको छ।
प्रधानमन्त्री कार्की नेतृत्वमा मन्त्रिपरिषद् विस्तारपश्चात् बसेको यो पहिलो बैठक हो, जसले आन्दोलनसँग सम्बन्धित निर्णयहरूलाई प्राथमिकता दिएको देखिएको छ।
























