मकवानपुरमा सेनाको ट्रक दुर्घटना,१६ जना घाइते
हेटौंडा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चुरियामाई, मकवानपुर–बारा सिमानामा आज दिउँसो नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना सैनिक घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटना दिउँसो करिब २ः५० बजे भएको हो । तनहुँस्थित २ नं राजदल गणबाट धनुषातर्फ जाँदै गरेका चारवटा सेनाका ट्रकमध्ये लु १ ग २८० नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब १०–१२ फिट तल खसेको हो । ट्रक उपसेनानी हर्षविक्रम अधिकारीको कमान्डमा गइरहेको थियो ।
दुर्घटनापछि प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको नेतृत्वमा मकवानपुर जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी, पशुपतिनगर इलाका प्रहरी कार्यालय, रातोमाटे प्रहरी चौकी, र बारा जिल्ला अन्तर्गत अमलेखगन्जबाट खटिएका टोलीले नेपाली सेनासँग समन्वय गर्दै उद्धार कार्य सम्पन्न गरेका थिए ।
घाइते सबै सैनिकलाई तत्काल हेटौंडा अस्पताल लगिएको छ । गम्भीर घाइते केही सैनिकलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको बताइएको छ । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
























