बागमतीमा सवारी जरिवानाबाट एक करोडभन्दा बढी राजस्व संकलन

हेटौंडा । बागमती प्रदेशको काठमाडौँ उपत्यका बाहेकका जिल्लाबाट सवारी नियम उल्लंघनविरुद्ध गरिएको कारवाहीबाट एक करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउन र भदौ महिनामा गरिएको ट्राफिक कारवाहीबाट कुल १ करोड ५ लाख १० हजार ५ सय १ रुपैयाँ राजस्व संकलन भएको हो । यस अवधिमा जम्मा ११ हजार ६९१ वटा सवारीसाधनलाई कारवाही गरिएको थियो ।

राजस्व संकलन हुने जिल्लामा मकवानपुर, चितवन, धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र रसुवा रहेका छन् ।

प्रहरी उपरीक्षक तथा प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ढकेन्द्र खतिवडाका अनुसार ट्राफिक प्रहरीले मापसे मादक पदार्थ सेवन गरी सवारी चलाउने, सवारी अनुमति पत्र नलिएको, ओभरलोड, सिट बेल्ट र हेलमेट नलगाउने, आवश्यक कागजात नराख्ने, सवारी साधनको बत्ती बिग्रिएको, छतमा यात्रा गराउने, सीमाभन्दा बढी यात्रु राख्ने तथा तीव्र गतिमा सवारी चलाउनेजस्ता कारणमा कारवाही गरिएको हो ।

प्रवक्ता खतिवडाका अनुसार सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि नियमित रूपमा ट्राफिक चेकजाँच र सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन भइरहेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*