हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशालाको उद्घाटन
हेटौंडा । संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशालाको उद्घाटन गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले सोमबार उक्त प्रयोगशालाको उद्घाटन गरिन् । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको कार्यालय परिसरमा निर्माण गरिएको यो प्रयोगशाला पानीको गुणस्तर परीक्षणका लागि अत्याधुनिक उपकरण र प्रविधि रहेको जानकारी दिइएको छ ।
बोर्डका ग्राहकलाई निःशुल्क पानी परीक्षण सेवा उपलब्ध गराइने छ भने अन्य सर्वसाधारणलाई शुल्क लिएर सेवा प्रदान गरिने बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए ।
उक्त कार्यक्रमको उद्घाटनमा बोर्डका सदस्य, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, खानेपानी तथा सरसफाइ डिभिजन नं. १ का प्रमुख रविन श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, र जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी लगायतका अतिथिहरूको सहभागिता रहेको थियो ।























