गौतम बुद्धका मूर्ति तोडफोड
रुपन्देही – तिलोत्तमा नगरपालिकाले फराकिलो पारिएको सिद्धार्थ राजमार्गको बगैंचा क्षेत्रमा राखेका भगवान गौतम बुद्धका मूर्तिहरू गएराति तोडफोड गरिएको छ। तिलोत्तमा नगरस्थित सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाामिलसम्मका ५ वटा बुद्धका मूर्ति तोडफोड गरिएको हो । तोडफोड गरिएकामध्ये एउटै मूर्तिको तौल ११० किलो छ। ठूलो समूह नै लागेर मूर्ति तोडफोड गरेको हुनसक्ने स्थानीयको आशंका छ।यी मूर्ति बुधबार साँझसम्म दुरुस्त थिए। यो सडकखण्डको बगैँचा क्षेत्रमा नगरपालिकाले २२ वटा बुद्धमूर्ति राखेको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिएका छन्। मूर्ति तोडफोडमा संलग्नको पहिचान हुन सकेको छैन। घटनापछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोली पुगेर अनुसन्धान थालेको छ। बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीको झल्को दिनका लागि नगरपालिकाले गत आर्थिक वर्षमा २२ वटा सुनौला रंगका मूर्ति राखेको थियो।
























