हेटौंडा बजार क्षेत्रमा एक्साभेटर आतंक
साउन ४,हेटौंडा/ २५ मिटर सडक विस्तारको हल्लाले चर्चा बटुलिरहेको बेला हेटौंडा बजार क्षेत्रमा एकाएक एक्साभेटर चलेपछि बजार क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ । सडक छेउको नाली जाम हुने गरी बनाएको कंक्रिट भत्काउने नाममा सडक विभागले एक्साभेटर प्रयोग गरेको थियो । मेनरोड क्षेत्रबाट फुटपाथमा साना सवारी छिराउनको लागि बनाइएको कंक्रिटले ढल निकासमा समस्या भएको भन्दै विभागले भत्काएको हो ।
एक्साभेटरको प्रयोग गरी ढलान निकास खुलाउने नाममा व्यवसायी तथा घर वालालाई अनावश्यक मानसिक तनाव दिने काम भएको भन्दै विरोध भएको छ । सरोकारवाला निकायसँग समन्वय नै नगरी एक्कासी एक्साभेटरले मेनरोडमा ढलान भत्काउने काम गरिएको भन्दै व्यवसायी तथा स्थानीयले केहीबेर काममा अवरोधसमेत गरेका थिए ।
‘व्यापक सुरक्षाकर्मीको समेत प्रयोग गरी सडक डिभिजनले सबैलाई आतंकित पार्ने गरी काम गर्नु गलत हो, नाली जाम भएको भन्दै कंक्रिट भत्काउने नाममा लिंकरोड जोड्ने सडकको नाली पनि भत्काइनु दुःखद हो ।’ मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहेका व्यवसायी राजकुमार न्यौपानेले भने–‘ढल जाम भएको खुलाउने कुरा राम्रो हो । तर, सर्वसाधारणलाई असहज हुने गरी काम गर्ने छुट कसैलाई पनि छैन ।’ हेटौंडा–१ का बासिन्दा सुदिप क्षेत्रीले चेनवाला एक्साभेटरको प्रयोग गरी राम्रो पिचलाई समेत भत्काउने काम भएको भन्दै आपत्ति जनाए । व्यवसायी तथा स्थानीयलाई आतंक फैल्याउने गरी अनावश्यक रुपमा हतियारसहितको सुरक्षाकर्मी परिचालन गरिएको उनको आरोप छ ।
हेटौंडा–१० का स्थानीय केदार न्यौपानेले नगरपालिका, स्थानीयबासी कसैसँग पनि समन्वय नगरी मनलाग्दी ढंगले सडक विभागले काम गरेको भन्दै आपत्ति जनाए । सर्वसाधारणलाई असुविधा हुने गरी काम गर्न सकैलाई पनि छुट नभएको उनको भनाइ छ । त्यस्तै होटल एशोसिएसनका अध्यक्षसमेत रहेका १० नम्बर वडाबासी शंकरलाल श्रेष्ठले भने सडक विभागले मनलाग्दी रुपमा नाजायज काम गर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको भन्दै रोष प्रकट गरे ।
व्यवसायी तथा स्थानीयलाई आतंकित पार्ने मनसायले एक्साभेटर प्रयोग गर्दा पनि वडाध्यक्ष, मेयरलगायतले बेवास्ता गरेको उनको भनाइ छ । डिभिजन सडक कार्यालय हेटौंडाका सूचना अधिकारी जयराम अधिकारीले भने स्थानीयकै सुविधाको लागि आफूहरुले एक्साभेटर प्रयोग गरी नाली खोलिएको बताए । कंक्रिटले नाली बग्न रोकेका र ढलको पानी सडकमा बग्ने समस्या समाधानको लागि एक्साभेटर लगाएर कंक्रिट ढलान निकालिएको अधिकारीको भनाइ छ ।
–साझाकुराबाट
























