हेटौँडा ९ मा डेङ्गु बारे सचेतना
मकवानपुर, २४ साउन । पछिल्लो समयमा हेटौँडा उपमहानगरपालिकाका विभिन्न स्थानहरुमा डेंगु रोगको सक्रमण तिब्र रुपमा बढेपछि उपमहानगरभरि नै विभिन्न सचेतना कार्यक्रमहरु गर्न थालिएका छन् । यसै क्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ ले पनि आफ्ना वडावासीहरुमाझ सचेतना कार्यक्रमको सुरुवात गरेको छ । ९ नम्बर वडा कार्यालयको आयोजना र टोल विकास संस्था वडा समन्वय समितिको सहयोगमा कार्यक्रम भएको हो ।
शुक्रबार बिहान वडाका मिलन टोल विकास संस्था र कुष्माण्ड टोल विकास संस्थाका नागरिकहरुमाझ डेंगुका बारेमा सचेतना कार्यक्रमको आयोजना गरिएको छ । दुई वटा टोल विकास संस्थाका सदस्यहरुलाई डेंगुका बारेमा सचेत गराइएको वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले जानकारी दिनुभयो । टोल विकास संस्थामार्फत वडाका विभिन्न स्थानहरुमा यसको सचेतना बढाईने वडाको लक्ष्य छ । ९ नम्बर वडामा जस्तै उपमहानगरका विभिन्न स्थानहरुमा डेंगुबारे सचेतना कार्यक्रम निरन्तर भईरहेको छ ।
























