पहिरोको कारण कान्ति लोकपथको साढे दुई अर्ब लगानी जोखिममा

हेटौंडा । हेटौंडाबाट राजधानी जोड्ने कान्ति लोकपथमा सरकारले गरेको साढे दुई अर्ब लगानी जोखिममा परेको छ। ७५ प्रतिशत काम सकिएको अवस्थामा सडकमा निरन्तर पहिरो जान थालेपछि यसलाई मर्मत गर्नमात्र थप एक अर्ब रुपैयाँ लाग्ने भएको छ। बाटोको डिपिआर तयार गर्ने कोरियन कम्पनीले यो क्षेत्रको भौगर्भिक अवस्था कमजोर रहेकाले बिपी राजमार्गको जस्तो मोडेलमा बनाउनु पर्ने सुझाव दिएको थियो ।

बिपी राजमार्गको धुलिखेल-बर्दिवासका धेरै ठाउँ भौगर्भिक हिसाबले कमजोर भेटिएपछि जापान सरकारले फरक ढंगले यो राजमार्ग निर्माण गरेको छ। हरेक किलोमिटरको भौगर्भिक अध्ययन गरेर डाँडा कमजोर भेटिएको ठाउँमा जापान सरकारले कतिपय डाँडाको आधा भागसम्म ढाक्ने गरी ‘रिटेनिङ वाल’ पर्खाल बनाएको छ।

धुलिखेलदेखि सिन्धुलीमाडीसम्मै धेरै ठाँउमा सडकमाथि र मूनि दुबैतिर त्यस्ता पर्खाल निर्माण गरिएका छन्। ती पर्खालले पहिरो रोकथाम गर्छन्। पर्खाल निर्माण गर्न महंगो भने हुन्छ। कान्ति लोकपथ सडक आयोजनाका अनुसार ९० किलोमिटर सडकमध्ये यो वर्षामा तीस ठाउँमा ठूलो पहिरो गएको छ। पहिरोले ३० करोडको क्षति भएको कार्यालयले जनाएको छ।

सडकको भौगर्भिक अवस्था अत्यन्त कमजोर भएका कारण सानो वर्षामा पनि पहिरो जाने गरेको हो। कार्यालयका इन्जिनियर अमिन्द्र खड्काका अनुसार ललितपुरको तीनपाने, नयाँ गाउँ, झाँक्रीडाँडा, हुपेली काल्चेभीर,तामाखानीमा प्रत्येक दुई९तीन सय मिटरमा पहिरो गएको छ। मकवानपुरको प्रतापडाँडा, ढिङगान, मकवानपुरगढीमा पहिरो गइरहेको छ।

‘मकवानपुरगढी त लगभग सबै झर्न लागेको अवस्था छ,’ खड्काले भने, ‘वर्षा हुने समय बाँकी रहेकाले क्षति अझै धेरै हुनसक्छ।’ गत सालभन्दा यसपालि पहिरो बढी जान थालेको उनले बताए।

खड्काका अनुसार निर्माण कम्पनीले जिम्मा लिनेबाहेकका ठाउँमा मात्र पहिरो जाँदा ३० करोडको क्षति भएको छ। ‘बनाइरहेको ठाउँमा केही भए निर्माण कम्पनीले नै जिम्मा लिन्छ, तर त्यसबाहेकका ठाउँमा उच्च क्षति भएको छ,’ खड्काले भने। आयोजना कार्यालयले पहिरो नियन्त्रणका लागि थप एक अर्ब रुपैयाँ सडक विभागसँग प्रस्ताव गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*