महिलाहरु उत्पादन संग जोडिए मुलुकमा समृद्धी आउने
हेटौंडा । प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले महिलाहरु आफै उत्पादन संग जोडिएमा मुलुकमा समृद्धी आउने बताउनुभएको छ। उहाँले उत्पादलाई जोड दिँदै यसको विकास गर्न सके मात्र देशमा समृद्धि आउने बताउनु भएको छ ।
मकवानपुर महिला उद्यमी व्यावसायी संघ र महिला श्रृजनशील केन्द्र काठमाण्डौको संयुक्त आयोजनामा मेला सञ्चालन भएको श्रृजनसिल महिला उद्यमी मेला २०७६ को समापन समारोहलाई सम्बोधन गर्दै महिला उद्यामीहरुका लागि प्रदेश सरकारले के सहयोग गर्नुपर्ने हो आफुहरुले गर्ने उहाँले बताउनुभयो ।
प्रदेश सरकार नेपाली वस्तुको प्रयोगमा विशेष जोड दिने खालको कानुन निर्माण गर्ने तयारीमा रहेको बताउनुभयो । समृद्धि त्यसै नआउने भन्दै उहाँले सबैले आ–आफ्नो क्षेत्रबाट काम गरेर देखाउनु पर्ने बताउनुभयो । उहाँले सरकारले महिला उद्यमीहरूलाइ बैंकबाट सहुलियत ऋण दिने व्यवस्था गरेको भएपनि यसको प्रक्रिया झन्झटिलो हुँदा महिलालाई आत्म निर्भर बन्न समस्या भइरहेको स्विकार्नुभयो ।
प्रदेश तीन सरकारले प्रत्येक गाउँपालिका, प्रत्येक नगरपालिकामा उद्योग ग्रामको स्थापना गर्ने घोषण गरिसकेको भन्दै मुख्यमन्त्री पौडेलले उक्त उद्योग ग्राममा सबैखालका उद्योगीहरुले आफना उत्पादन गर्न सक्ने बताउनुभयो ।साथै उहाँले उत्पादित बस्तुको बजारीकरणको व्यवस्था सरकारले गर्ने भन्दै त्यसका लागि स्थानको खोजी भइरहेको बताउनुभयो ।
सरकारले बजारीकरणको लागि हरेक जिल्लामा ठुला खालका पसल खोल्ने योजना बनाएको भन्दै मुख्यमन्त्री पौडेलले त्यसमा लाग्ने खर्च सरकारले बेहोर्ने बताउनुभयो । महिला उद्यमीहरुको हरेक काममा हरेक पुरूषको सहयोग रहनु पर्ने भन्दै उहाँले आफुँले हरेक काममा महिला दिदीबहिनीहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रदेश तीनकी सांसद मुनु सिग्देलले अझै पनि सम्पतिमा महिलाको अधिकार न्यून रहेको बताउनु भएको छ । उहाँले आर्थिक रूपमा पछाडि परेका महिलालाई श्रम र सिपको आधारमा बैंकले बिना धितो ऋण दिने व्यवस्था सरकारी निकायबाटै निर्णय हुनु पर्ने धारणा राख्नुभयो । सांसद सिग्देलले बैङ्क कमाउने धन्दाको लागि मात्र स्थापित नभएको भन्दै व्यवहारिक भएर सोच्न पनि आग्रह गर्नुभयो ।
























