सवारी चालक अनुमतिपत्रको आवेदन असोज अन्तिम साताबाट खुल्ने
हेटौंडा– प्रदेश नम्बर ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम साताबाट अनलाइन आवेदन खुला गर्ने जनाएको छ ।
भौतिक पूर्वाधार निर्माणका लागि अहिले हेटौँडामा प्रहरी ट्रायल सेन्टरको निर्माण कार्यको थालनी भइरहेको र कार्यालयमा आवश्यक प्रविधिको जडान गर्ने कार्य पनि सञ्चालनमा रहेको बताइएको छ । सो कार्यालयले प्रदेशअन्तर्गत रहेको चितवनका २ हजार ५ सय मोटरसाइकलहरुको साविक नारायणी अञ्चलमा दर्ता रहेका नम्बरलाई खारेज गरी हाल प्रदेशको कोड नम्बरसहित नयाँ नम्बरमा दर्ता गरिएको जनाएको छ ।
कार्यालयका अनुसार विभिन्न जिल्लाका यातायात कार्यालयबाट सवारी अनुमतिपत्र प्राप्त गरेका पुराना १ हजार २ सय व्यक्तिको अनुमतिपत्रलाई पनि यहाँ अहिले नवीकरण गर्ने कार्य सम्पन्न गरिएको छ । उक्त कार्यालयमा दैनिक ३५ देखि ४० सम्म व्यक्तिले सवारी अनुमतिपत्र नवीकरणका लागि आवेदन दिने गरेका बताइएको छ । सो कार्यालयले आव २०७५र७६ मा विभिन्न स्रोतको राजश्ववापत २६ करोड ११ लाख ४८ हजार थप राजश्व असुली गरेको जनाएको छ ।
अब केही हप्ताभित्रै सडकको अनुगमन गरी प्रदूषणको नियन्त्रण गर्ने प्रविधिको परीक्षण गर्न एवं उच्च भारबहन गर्ने सवारीसाधनलाई प्रत्यक्ष निगरानी गरी क्षमताभन्दा बढी भारबहन गर्ने सवारीसाधनलाई कानूनी कारवाही अगाडि बढाउने क्रममा थप अधिकार प्रत्यायोजनका लागि यातायात सवारी ऐनको संशोधन गर्न प्रदेशसभामा विधेयक दर्ता भइसकेको प्रदेश यातायात व्यवस्था सेवा कार्यलयका प्रमुख पोषण थापाले बताए ।
























