हेटौंडा अस्पताललाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने बाटो खुल्यो

मकवानपुर — प्रदेश सरकारको वार्षिक नीतिअनुसार हेटौंडा अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा परिणत गर्ने गरी ल्याएको विधेयक प्रदेशसभाको बैठकबाट पारित भएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकबाट गत चैत २६ मा पेस भएको मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको हो । विधेयक पारित भएसँगै हेटौंडा अस्पताललाई प्रतिष्ठानको रूपमाअगाडि बढाउने बाटो खुलेको छ ।

प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले उक्त विधेयक प्रदेशसभामा पास गरियोस् भनेर दर्ता गराएका थिए । निर्माणाधीन अस्पतालमा एक सय ९० बेड क्षमता तयार हुने र त्यसमा प्रदेशको बजेटमार्फत् थप सय बेड क्षमताका लागि भवन निर्माण गरी मेडिकल कलेजसहितको कम्तीमा तीन सय बेड क्षमताको प्रतिष्ठान निर्माण गर्ने प्रदेश सरकारको योजना छ ।

विधेयकमा सामुदायिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण विद्यार्थी प्रतिष्ठानमा भर्ना हुँदा प्रवेश परीक्षामा अतिरिक्त १० नम्बर दिने व्यवस्था गरिएको र नेपाली विद्यार्थीलाई ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने संघीय कानुनमा उल्लेख भएको बुँदालाई पनि समावेश गरिएको मन्त्री दुलालले जनाए । ‘विदेशी विद्यार्थीलाई छात्रवृत्ति दिइने छैन । संघीय सरकार मातहत रहेको भरतपुर अस्पतालसाग सहकार्य गरी प्रतिष्ठान स्थापना गर्ने गरी विधेयक पारित गरिएको छ,’ उनले भने ।

प्रदेशको शिक्षा, स्वास्थ्य तथा कृषि समितिका घनश्याम दाहालका अनुसार प्रतिष्ठानको कुलपतिमा मुख्यमन्त्री र सामाजिक विकास मन्त्री सहकुलपति हुने व्यवस्था विधेयकमा गरिएको छ । उपकुलपति नियुक्तिको सिफारिस गर्न सहकुलपतिको अध्यक्षतामा सभाका अन्य दुई जना सदस्य रहेको समिति गठन हुने व्यवस्था पनि विधेयकमा गरिएको छ । उपकुलपतिका लागि आवश्यक योग्यता, काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सेवा तथा सुविधालगायतका विषय तोकिए बमोजिम हुने प्रस्तावसभाबाट पारित भएको विधेयकमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*