हेटौंडामा डेंगुका बिरामी थपिदै , ४३८ डेंगुका बिरामी फेला
हेटौंडा । हेटौंडामा डेंगुका बिरामी दैनिक रूपमा थपिदै गएका छन् । सुरुमा एकै दिन २० जनासम्म डेंगुका रोगी फेला परेपनि अहिले दैनिक चाररपाँच रोगी थपिने गरेको हो । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार शुक्रबार बेलुकासम्म मकवानपुरमा ४ सय ३८ जना डेंगु रोगी फेला परे ।
‘मकवानपुर अर्थात् हेटौंडामा डेंगु रोग क्रमशस् नियन्त्रणउन्मुख छ,’ स्वास्थ्य कार्यालयका प्रमुख शशिकान्त सिंहले भने, ‘डेंगुका रोगी दैनिक चाररपाँच जना थपिने क्रम जारी छ ।’ डेंगु परीक्षण गर्ने किट समस्या पनि हुने गरेको छ । मागअनुसार माथिबाट किट आएको छैन । चार सय किट पठाउँछौं भनेका थिए तर २ सय मात्र पठाएका छन्,’ सिंहले भने, ‘अब किट थोरै मात्र बाँकी छ ।’
हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले डेंगु परीक्षण गर्न किट समस्या नहुने, आवश्यक परे उपमहानगरपालिकाले खरिद गरेर ल्याएर स्वास्थ्य कार्यालयलाई दिने बताए । ‘किटको कारणले रोग परीक्षण गर्न नपाउने अवस्था आउनु हुँदैन’ मेयर महतले भने, ‘किट खरिद गर्ने व्यवस्था नगरपालिकाले मिलाउनेछ ।’
स्वास्थ्य कार्यालयमा निस्शुल्क डेंगुको परीक्षण गर्ने गरिएको छ । हेटौंडा उपमहानगरपालिका–४ मा बढी डेंगुका रोगी फेला परेका छन । हेटौंडाबाट फैलिएको डेंगुको रोग अहिले मनहरी भीमफेदी, बकैया र वाग्मती गाउँपालिकाका बासिन्दामा समेत देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
गत आवमा हेटौंडामा जम्मा पाँच जना मात्र डेंगुका बिरामी भेटिएकामा यस वर्षको लगातारको वर्षात्पश्चात् एक्कासि डेंगुको संक्रमण देखिएको थियो । साउनको पहिलो सातादेखि हेटौंडामा डेंगुको रोग देखा परेको हो । डेंगु रोग सार्ने लामखुट्टेहरू सफा पानी जम्ने स्थानमा बस्ने भएकाले वडाका हरेक टोलटोलमा पुगी पानी जम्ने खाल्डाखुल्डी पुर्ने, पानीको डम्बा, भाँडा, फ्याँकिएका विभिन्न टायरहरू हटाउने अभियान अहिलेसम्म पनि जारी छ । डेंगु देखिएसँगै स्थानीयको प्रत्यक्ष संलग्नतामा ‘खोज र नष्ट गर’ गर्ने कार्य भइरहेको छ ।
























