मकवानपुरको गाँजा नष्ट गर्दै प्रहरी
हेटौंडा — मकवानपुरमा गाँजा नष्ट गर्न सुरक्षाकर्मी नै परिचालित गर्नुपरेको छ । ६० जनाको प्रहरी चार समूहका विभाजित गरी राक्सिराङको विभिन्न वडामा गाँजाको बोट र ब्याड नष्ट गर्न आइतबारदेखि प्रहरी खटाएको हो ।
मकवानपुरको राक्सिराङ गाउँपालिका ३ तीन वडामा २ दिनमा प्रहरीले १० बिघा जमिनमा लगाएको गाँजा उखेलेको छ । १६ कठ्ठा जमिन राखेको गाँजाको ब्याड पनि नष्ट गरेको छ ।
प्रहरीको चार टोलीले राक्सिराङ गाउँपालिका—३ मा ६ बिघा जमिनमा लगाएको गाँजा नष्ट गरेको छ । उक्त गापाकै २ मा पने आमडाँडामा साढे २ बिघा जमिनमा लगाएको गाँजाको बिरुवा उखेलेर फालेको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए ।
वडा नं ३ र ४ नम्बरमा ३१ मा लगाएको गाँजाको ब्याड नष्ट गरेकोउनले बताए । मकवानपुरलाई गाँजा र अफिममुक्त जिल्ला बनाउने उद्देश्यले गाँजा, अफिम र त्यसको ब्याडसमेत नष्ट गर्न आइतबारबाट प्रहरीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।
राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने, ‘जहाँ–जहाँ मोटरबाटो पुगेको छ, त्यहाँबाट गाँजा र अफिम खेती क्रमशः विस्थापित हुँदै गएको छ, जहाँ मोटरबाटो पुगेको छैन, त्यहाँका बासिन्दा अहिले पनि गाँजा खेती गरिरहेका छन् ।’
























