रवि लामिछानेको मुद्दामा यसो भन्यो उच्च अदालत हेटौंडाले

हेडौंडा– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा उच्च अदालत पाटनको हेटौंडा इजलाशले जिल्ला अदालत चितवनबाट सक्कल मिसिलसहितको प्रतिवेदन मगाउन आदेश जारी गरेको छ ।

मंगलबार टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेलले दायर गरेको पुनरावलोकन रिटमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनको हेटौंडा इजलाशले यस्तो आदेश जारी गरेको हो ।

हेटौंडा इजलाशका मुख्य न्यायाधीश टेकराज नेपालको इजलाशले शालिकराम पुडासैनी प्रकरणको आत्महत्या दुरुत्साहन मुद्दाको सक्कल मिसिलसहितको प्रतिवेदन मगाउन आदेश जारी गरेको प्रवक्ता अमृत घिमिरेले जानकारी दिए ।

यस्तै, चितवन जिल्ला अदालतबाट सक्कल मिसिलसहितको प्रतिवेदन प्राप्त भएपछि पेशीको सूचना उच्च अदालत पाटको हेटौंडा इजलाशलाई दिइ पेश गर्न पनि आदेशमा भनिएको छ ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका प्रतिवादी लामिछाने र कँडेलको हकमा जिल्ला अदालत चितवनले क्रमश ५ लाख ३ लाख धरौटी लिइ तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न थुनछेक आदेश जारी गरेको थियो ।

रवि र युवराजको हकमा मुद्दासँग सम्बन्धित विषयमा टेलिभिजन कार्यक्रम प्रसारण गर्न नपाइने र सार्वजनिक ठाउँमा त्यसबारे टिप्पणी गर्न नपाइने जिल्ला अदालतको शर्त थियो ।

जिल्ला अदालतको उक्त आदेश बेरितको भएको भन्दै रवि र कँडेलले मंगलबार उच्च अदालत पाटको हेटौंडा इजलाशमा पुनरावलोकन निवेदन दिएका थिए ।

उनीहरुले धरौटी माग गर्ने जिल्ला अदालतको आदेश र आफूहरुका सन्दर्भमा राखिएका शर्तहरु पनि खारेज गरिनुपर्ने मागदाबी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*