भीमफेदीमा “डिप्लोमा इन सिबिल इन्जिनियरिङ्ग ” पढाई हुने
हेटोंडा , ३० भदौ मकवानपुरको पुरानो सदरमुकाम भिमफेदीमा रहेको वि.सं. २००४ सालमा स्थापित देशकै पुरानो मध्य एक महेन्द्र माध्यामिक विद्यालयमा ३ वर्षे “ डिप्लोमा इन सिबिल इन्जिनियरिङ ” कक्षा सञ्चालन हुने भएको छ ।
इन्जिनियरिङ बिषयमा दुई वर्ष अघिदेखि १८ महिने “सब ओभरसियर ” कार्यक्रम सञ्चालन गर्दै आएको यस प्राविधिक विद्यालयले इन्जिनियरिङ बिषयमा रुचि भएका विद्यार्थीहरुले सो तहको अध्ययन गर्न अन्यत्र जान नपरोस भन्नका लागि तथा दक्ष प्रविधिक जनशक्ति उत्पादन गर्नका लागि आफूहरुले सिटिइभिटीको सम्बन्धनमा “ डिप्लोमा इन सिबिल इन्जिनियरिङ ” कक्षा सञ्चालन गर्न लागेको विद्यालयका प्रधानाध्यापक कुमार सिंह लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालयमा यस अघि सिटिइभिटिइ अन्तर्गत नै रही १८ महिने इन्जिनियरिङ्ग कक्षा सञ्चालन हुँदै आएको छ ।
हाल सो कार्यक्रम अन्तर्गत यस विद्यालयमा ३० जना विद्यार्थीहरु इन्जिनियरिङ विषयको १८ महिने कार्याक्रममा अध्ययनरत छन् । भुकम्प पछिको पुननिर्माणमा आएका इन्जिनियर तथा कुलेखानी जलविद्युत आयोजनाका दक्ष इन्जिनियरहरुबाट अध्यापन गराइरहेको र डिप्लोमामा पनि विगतमा अध्यापन गराउदै आएका शिक्षकहरुले नै अध्यापन गराउने विद्यालयका प्राविधिक विभागका संयोजक कृष्ण पोखरेलले जानकारी दिनुभयो ।
विद्यालयमा विकट क्षेत्र जस्तै कोगटे , इपा , देउराली तथा टाढा टाढाबाट समेत विद्यार्थीहरु आउने गरेको र टाढाका विद्यार्थीहरुलाई लक्षित गरी छात्राबासको समेत व्यवस्था भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेसम लामाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयले त्रिभुवन विश्व विद्यालयको सम्वन्धनमा शिक्षा बिषयमा स्नातक कक्षा समेत सञ्चालन गर्ने तयारी गरेको छ ।
टाढाका विद्याथीहरुलाई आवत जावतमा समस्या पर्ने गरेको जनाउदै अध्यक्ष लामाले विद्यालयले चाढै नै स्कुल बस समेत सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा स्कुल बसको लागि प्रस्ताव पेश भएको र मन्त्रालय सकारात्मक रहेको उहाँको भनाई छ ।
























