२ वर्षमा मकवानपुरमा ७ हजार सवारी चालकलाई कारवाही

हेटौंडा । ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दुई वर्षको अवधिमा सवारी चालक अनुमतिपत्रबिना सवारी चलाउने करीब सात हजारलाई कारवाही गरेको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न स्थानमा सुरक्षा जाँच गर्ने क्रममा चालक अनुमतिपत्रबिना नै सवारी चलाउने छ हजार ६७७ लाई कारवाही गरिएको हो ।

सवारी चालक अनुमतिपत्र नपाएकाले सवारी चलाउनु ट्राफिक नियमविपरीत मात्र नभई बढ्दो सवारी दुर्घटना भएकाले उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीको भनाइ छ । ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७४र७५ मा सवारी चालक अनुमतिपत्रबिना सवारी चलाउने चार हजार नौलाई कारवाही गरिएको थियो ।
उक्त कारवाहीबाट रू. २३ लाख ६८ हजार ५०० राजस्व संकलन भएको छ । त्यसैगरी आव २०७५र७६ मा दुई हजार ५२८ ले सवारी चालक अनुमतिपत्रबिना नै सवारी चलाएको ट्राफिक कार्यालय हेटौँडाले जानकारी दिएको छ । उक्त कारवाहीबाट रू. १८ लाख ४१ हजार जरिवाना उठाइएको बताइएको छ ।

त्यस्तै चालू आवको २०७६र७७ का दुई महीनाको अवधिमा प्रहरीले १४० लाई सवारी चालक अनुमतिपत्रबिना सवारी चलाएको भन्दै कारवाही गरेको बताइएको छ । उक्त कारवाही गर्दा रू। एक लाख ४० हजार राजस्व संकलन भइसकेको ट्राफिकले जानकारी दिएको छ ।

ट्राफिक कार्यालयका प्रहरी निरीक्षक हरिविष्णु ढकालले पछिल्लो समय डरलाग्दो गतिमा सवारी दुर्घटना बढेको हुँदा सवारी चलाउन परिपक्व भएकाले मात्रै चलाऊन् भन्ने हेतुले सवारी चालक अनुमतिपत्र थप अनिवार्य गर्न जरिवाना रकम पनि बढेको जानकारी दिए । उनले गत वर्षसम्म प्रकृति हेरेर रू. ५०० देखि रू. एक हजारसम्म जरिवाना गरिएको भए पनि चालू आवदेखि सवारी चालक अनुमतिपत्र नहुनेलाई रू. एक हजार जरिवानाको व्यवस्था गरिएको बताए ।

पछिल्लो समय सवारी चालक अनुमतिपत्र नभएका तथा उमेर नै नपुगेका युवाले अत्यधिक तीव्रगतिमा सवारी चलाउँदा दुर्घटना हुने गरेको उनको भनाइ छ । जसले गर्दा दुर्घटनामा मृत्यु हुनेको संख्या पनि बढ्दो छ । गत वर्ष मात्रै जिल्लामा ५३ को दुर्घटनामा परेर मृत्यु भएको बताइएको छ ।

त्यसमा अधिकांश मोटरसाइकल दुर्घटनामा परेका ट्राफिक कार्यालयको तथ्यांकमा उल्लेख छ । सोह्रदेखि २५ वर्ष समूहका युवाले अत्यधिक मात्रामा सवारी चलाउँदा अनियन्त्रित भई दुर्घटना हुने गरेको प्रहरी निरीक्षक ढकालले बताए । उनले गत वर्ष दूर्घटनामा संलग्न सवारीमध्ये सबैभन्दा धेरै ६९ मोटरसाइकल रहेका छन् । त्यसमा अधिकांश १६ देखि २५ वर्षका सवारी चालक अनुमतिपत्र नभएका युवा रहेका उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*