भक्तपुरबाट चोरी भएको मोटरसाइकल हेटौंडामा भेटियो
हेटौंडा– राजधानी काठमाडौंमा चोरी हुने मोटरसाइकलहरु तराईंका जिल्लामा लगेर बिक्री हुने गरेको घटना यसअघि नै सार्वजनिक भइसकेको थियो । संघीय राजधानी काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट चोरी हुने मोटरसाइकलहरु बेला–बेला पूर्वी र पश्चिम तराईंका जिल्लाहरुमा फेला पर्ने गरेका छन् ।
प्रहरीका अनुसार यसरी मोटरसाइकल चोरी गर्नेमा गिरोह नै सक्रिय हुने गरेको छ । तर, पछिल्लो समय भने मोटरसाइकल चोरी गर्ने गिरोहभन्दा १ जना व्यक्तिको मात्रै संलग्नता हुने गरेको खुलेको छ । मकवानपुर प्रहरीले भक्तपुरको ठिमीमा पार्किङ गरेर राखिएको मोटरसाइकल चोरेर लैजाँदै गरेका एक जनालाई पक्राउ गरेको छ ।
मंगलबार ९असोज ७ गते० भक्तपुरको ठिमीमा पार्किङ गरेर राखिएको लु ५४ प ६०९८ नम्बरको मोटरसाइकल चोरी गरेर लैजान लागेका एक युवक पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–८ घर भएका १८ वर्षी अविनाश चौधरी छन् ।
चौधरी यसअघि पनि मोटरसाइकल चोरीमा संलग्न रहेको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीले चौधरीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
























