बली प्रथाको विरोधमा हेटौंडामा निस्कियो ¥याली
११ आश्विन, हेटौंडा । पछिल्लो समय पशुबलीको विरुद्ध थुप्रै आवाज उठिरहेको बेला हेटौडाका श्रीकृष्ण प्रणामी समुदायले पशुबली प्रथा विरुद्ध आज सचेतनामुलक ¥याली निकालेका
छन् ।
¥यालीमा सहभागीहरुले पशुपंक्षीको बाँच्न पाउने अधिकार संरक्षण गरौं, पशुबली अन्त्य गरौं, शाकाहारी समाजको निर्माण गरौं लगायतका नारासहितको प्लेकार्ड बोकेका थिए ।
हेटौँडा प्रणामी मन्दिरबाट शुरु भएको र्याली बजारका विभिन्न भाग परिक्रमा गरी बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुर, श्रीकृष्ण प्रणामी युवा परिषद मकवानपुर र बाईजुराज महिला समिति मकवानपुरले संयुक्त रुपमा र्यालीको आयोजना गरेको हो ।
सेवा समितिका केन्द्रीय सदस्य रामकृष्ण तिवारीको प्रमुख आतिथ्यता एवं जिल्ला अध्यक्ष अर्जुनप्रसाद वाग्लेको सभाध्यक्षतामा भएको कार्यक्रममा समितिका केन्द्रीय सदस्य बद्री चौलागाई, परिषदका केन्द्रीय सदस्य विष्णु वाग्ले लगायतको सहभागिता थियो ।
देवालय, मन्दिर र घरमा पशुबलीको अन्त्यका लागि सचेतनामुलक र्यालीको आयोजना गरिएको परिषदका जिल्ला अध्यक्ष जयप्रकाश घिमिरेले बताउनुभयो ।
























