टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

हेटौंडा– टेलिभिजन प्रस्तोता रवि लामिछानेको आत्महत्या दुरुत्साहन मुद्दामा आज सुनुवाइ हुँदैछ । उच्च अदालत हेटौंडामा न्यायाधीशद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशमा रविको मुद्दा पेशीमा रहेको छ ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका अभियुक्तमध्येका लामिछानेबाट ५ लाख र कँडेलबाट ३ लाख रुपैयाँ धरौटी लिइ तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भन्दै चितवन जिल्ला अदालतले भदौ ९ गते थुनछेक आदेश जारी गरेको थियो ।

रवि र युवराजको हकमा मुद्दासँग सम्बन्धित विषयमा टेलिभिजन कार्यक्रम प्रसारण गर्न नपाइने र सार्वजनिक ठाउँमा त्यसबारे टिप्पणी गर्न नपाइने जिल्ला अदालतको शर्त थियो ।

तर, लामिछाने र कँडेलले चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै उक्त आदेश खारेज गरी साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गराइ पाउँ भन्दै उच्च अदालत पाटनको हेटौंडा इजलाशमा भदौ १७ पुनरावलोकन रिट दायर गरेका थिए ।
उनीहरुले धरौटी माग गर्ने जिल्ला अदालतको आदेश र आफूहरुका सन्दर्भमा राखिएका शर्तहरु पनि खारेज गरिनुपर्ने मागदाबी गरेका छन् ।
लामिछाने र कँडेलले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालत पाटनको हेटौंडा इजलाशले उक्त मुद्दाको कैफियत फाइल मगाउन आदेश जारी गरेको थियो ।

हेटौंडा इजलाशका मुख्य न्यायाधीश टेकराज नेपालको भदौ १८ गतेको इजलाशले आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दाको जिल्ला अदालत चितवनबाट सक्कल मिसिलसहितको प्रतिवेदन मगाउन आदेश जारी गरेको थियो ।

यसबीचमा सरकारी वकिलको कार्यालय हेडौंडाले पनि पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका अभियुक्तलाई साधारण तारखे तथा धरौटीमा रिहा गर्ने जिल्ला अदालत चितवनको आदेशविरुद्ध हेटौंडा इजलाशमा पुनरावलोकन रिट दायर गरेको छ ।

वादी पक्ष (नेपाल सरकार)बाट भदौ २४ गते दर्ता भएको पुनरावलोकन रिटमा आत्महत्या दुरुत्साहन मुद्दाका तीनै जना अभियुक्त लामिछाने, कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न भनि आदेश जारी गर्न मागदाबी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*