विद्यार्थी संगठनद्धारा ‘गो ब्याक इन्डिया’ भन्दै भारतीय दूतावास घेराउ
काठमाडौँ। भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग अतिक्रमण गरिएको विरोधमा संयुक्त विद्यार्थी संगठनले काठमाडौंस्थित भारतीय दूतावास घेराउ गरेको छ ।
नेपालको भूमि मिचेर भारतले जारी गरेको नयाँ नक्सा सच्याउन दवाव दिनको लागि शुत्रबार लैनचौरस्थित भारतीय दूतावास घेर्ने गरेको हो । भारतीय दूतावास अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरुले भारतको नक्सा समेत जलाएका छन् ।
संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा गरिएको प्रदर्शनमा उनीहरुले अतिक्रमित सम्पूर्ण नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहित राष्ट्रिय झण्डा बोकेर भारतीय ‘विस्तारवाद मुर्दाबाद, गो ब्याक इन्डिया, ब्याक अफ इन्डिया, लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो’ जस्ता नारा लगाएका थिए।
भारतले यही आइतवार सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि समेटेको विरोधमा भारतविरुद्ध देशभर आन्दोल चर्किँदै गएका छन् । सरकाले पनि भारतीय नक्साको विरोध जनाइसकेको छ ।
लामो समयदेखि भारतले अतिक्रमण गर्दै आएको दार्चुला जिल्लाको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई भारतले आफ्नो नक्सामा समेटेर नयाँ नक्सा सार्वजनिक गरेको थियो ।
























