सवा अर्ब तिर्न बाँकी शिवम् सिमेन्टको लाईन अझै काटिएन

ठुलालाई चैन,सानालाई ऐन

३० कार्तिक मकवानपुर । एक लाखदेखि २ लाख रुपैयाँसम्म विद्युत महशुल बक्यौता रहेका हेटौंडाका २० वटा उद्योग कारवाहीमा परेका छन् । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले हेटौंडामा सञ्चालित २० वटा उद्योगको लाइन काटी कारवाही प्रक्रिया अघि बढाएको हो ।

पटकपटक ताकेता गर्दा समेत महशुल नबुझाएपछि ती उद्योगमा विद्युत लाइन काटिएको वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिए । कारवाही प्रक्रिया अघि बढाइएका २० उद्योगबाट २२ लाख रुपैयाँ बक्यौता बाँकी रहेको उनले जानकारी दिए ।

तर, सवा अर्बभन्दा बढी बक्यौता रहेको हेटौंडाको शिवम् सिमेन्ट उद्योग लिमिटेडलाई भने केन्द्रले छिटोभन्दा छिटो बक्यौता महशुल बुझाउन पत्र’ मात्र पठाएको छ । डेडिकेटेड लाइन लिएको शिवम्ले १ अर्ब २९ करोड रुयैयाँ भन्दा बढी महशुल तिर्न बाँकी रहँदा वितरण केन्द्रले भने पत्रमात्र पठाएको प्रमुख ठाकुरले बताए । तत्काललाई लाइन नकाट्नु भनी अदालतको स्टे अर्डर आएको कारण शिवम् सिमेन्टको लाइन नकाटिएको उनले जानकारी दिए ।

‘अदालतको स्टे अर्डरका कारण हामीले शिवम् सिमेन्टमा विद्युत लाइन काट्न मिल्दैन । ’ प्रमुख ठाकुरले भने, ‘ अहिलेलाई लाइन नकाट्नु भन्ने स्टे अर्डर छ । ’

४ वर्षदेखिको बक्यौता नतिरेको शिवम् सिमेन्टको सामाजिक सञ्जालमा समेत विरोध भैरहेको छ । सामाजिक सञ्जालमा क्रियाशिल थुप्रै हेटौंडाका नागरिकले त्यस उद्योगबाट चाँडोभन्दा चाँडो बक्यौता रकम उठाउन माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*