मकवानपुरका चेपाङ,अन्न सकिएपछि गिठ्ठाको भर

मकवानपुर,रामबहादुर चेपाङको बारीमा कोदो पाक्न अझै एक महिना बाँकी छ। तर, घरमा खानेकुरा सकिँदै गएपछि उनी खानेकुरा जोहो गर्न जुटेका छन्। आजभोलि बेलुकी मात्र खाना पकाउन उनको घरमा चुलो बल्छ। मकवानपुरको राक्सिराङ–७ दामराङका रामबहादुरको परिवारले गिठ्ठा खाएर बिहानको छाक टार्न थालेको दुई साता बित्न लाग्यो। ‘कोदो पाक्न बाँकी छ, घरमा भएको मकै पनि सकिन लाग्यो’, उनले भने, ‘खानाको सट्टा दैनिक एक छाक गिठ्ठा खाँदै आइरहेका छौं।’ यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा कृष्ण सारु मगरले लेखेका छन् ।

उनको परिवारलाई आफ्नो बारीमा उब्जिएको अन्नपातले ६ महिना मात्र खान पुग्छ। अरू समय उनी ज्याला–मजदुरी गरेर परिवार पाल्छन्। कन्दमुलले पनि भान्छा टर्छ। ‘भोर्ला, दाब्रा, कोइरालो, कालो कोइराला पनि हाम्रो पुरानो खानेकुरा हो तर यो मौसमी भएकाले सधैँ पाइँदैन’, चेपाङले भने, ‘घरमा सधैँ खानेकुराको अभाव गिठ्ठाले टार्दै आएको छ।’

दामराङकै सूर्यबहादुर चेपाङ पनि घाँसपातका लागि जंगल जाँदा फुर्सद मिलाएर गिठ्ठा खोजेर ल्याउँछन्। चेपाङ पुर्खाले खानेकुराकै रूपमा वर्षभरि प्रयोग गर्दै आएको गिठ्ठा उनी खाजा र अनिकालका बेला खानाको रूपमा प्रयोग गर्छन्। ‘मैले थाहा पाएदेखि नै घरमा गिठ्ठा टुटेको छैन, घरमा खानेकुरा सकिँदै गएपछि गिठ्ठाले भान्सा भरथेग गरेको छ’, सूर्यबहादुरले भने, ‘गिठ्ठा नपाउने हो भने अनिकालमा साहुसँग ऋण लिनुको विकल्प हुन्थेन।’ गिठ्ठा दामराङजस्तै यस क्षेत्रका चेपाङ बाहुल्य रहेको विकट क्षेत्रमा बर्सेनि अनिकालको चपेटामा पर्ने चेपाङको वैकल्पिक खाद्यान्न हो। तर, वर्षभरि खान पुग्ने चेपाङहरूले पनि गिठ्ठा खान छाडेका छैनन्। प्रायः चेपाङको घरमा खाजाको रूपमा गिठ्ठा खाने गरिन्छ।

‘धेरै चेपाङ परिवारको आर्थिक अवस्था सुधार भएको छ, वर्षभरि खान पुग्ने पनि धेरै छन्’, संविधानसभा सदस्य तथा चेपाङ अगुवा गोविन्दराम चेपाङले भने, ‘तर गिठ्ठा हाम्रो मौलिक खानेकुरा भएकाले सबै चेपाङले अनिकाल नपरे पनि खाजाका रूपमा खाने गरेका छन्।’ गिठ्ठालाई चेपाङ भाषामा लाक भनिन्छ। गिठ्ठा स्वास्थ्यको हिसाबले पनि पौष्टिक खानेकुरामा पर्ने उनी बताउँछन्। ‘गिठ्ठाको भरमा रहेका १६र१७ जना सन्तान जन्माउने चेपाङ दम्पती पनि छन्’, चेपाङले भने, ‘अन्य खानेकुराले भन्दा पर्याप्त शक्ति र औषधिको पनि काम गर्ने भएकाले पनि चेपाङले बरु चामलको भात खान छाड्लान् गिठ्ठा खान छाड्दैनन्।’ बिहान उठेर गिठ्ठा खाँदा ग्यास्टिक हट्ने, उच्च रक्तचाप ठीक हुने र लामो समयसम्म भोक नलाग्ने उनले बताए।

पछिल्लो समय गाउँमा आउने नयाँ पाहुनालाई यस क्षेत्रका चेपाङले गिठ्ठाको परिकारले स्वागत गर्ने चलन पनि बढेको छ। चेपाङ बाहुल्य राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायको मौलिक खानेकुरा संरक्षणका लागि अभियान सञ्चालन गरिरहको छ। ‘सामुदायिक वनभित्र गिठ्ठा, कोइरालोलगायत कन्दमुल संरक्षण गरिरहेका छौं’, गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने। गाउँपालिकालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न पनि सरकारसँग माग गरिएको छ। ‘गाउँपालिको जनसंख्याको ७० प्रतिशतभन्दा बढी चेपाङ छन्’, मल्लले भने, ‘गाउँपालिकालाई सरकारले संरक्षित क्षेत्र घोषणा गरिदिए चेपाङ गाउँघरको विकास र उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउने कार्यक्रम सञ्चालन गर्न सजिलो हुने थियो।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*