हेटौँडामा उठ्यो नक्सा र भारतीय नोटको कुरा
हेटौँडा,१३ मंसिर । नागरिक संवाद केन्द्र हेटौँडाले गत दुई महिनामा संघिय सांसदमा भएको गतिविधिबारे अन्तरक्रिया कार्यक्रम गरेको छ । केन्द्रका मकवानपुर प्रमुख रघुनाथ खरालले दुई महिनामा संघिय सांसदमा भएका विधेयकमाथिको छलफल, प्रमाणीकरणको लागि तयार र प्रमाणीकरण भएका विधेयक तथा विभिन्न समितिहरुको बैठक र निर्देशनको विषयमा जानकारी गराएका थिए ।
गत दुई महिनाको विचमा संघिय संसदमा राज्य ब्यवस्था तथा शुसासन समितिको बैठक, सार्वजनिक लेखा समिति, अर्थ समिति, शिक्षा समिति, विधायन ब्यवस्थापन समिति,कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति, विकास तथा प्रविधि समिति, प्रत्यायोजित ब्यवस्थापन तथा सरकारी आश्वसन समितिको बैठकहरु भएका छन् ।
छलफलमा लिम्पयाधिरा सहितको नेपालको नयाँ नक्सालाई अब आउने पाठ्यक्रममा अनिवार्य रुपमा समावेश गर्नुपर्ने, भारतीय नोटको विषयमा सरकारले स्पष्ट धारणा बनाउनुपर्ने लगाएतको विषयमा चर्चा भएको थियो । कार्यक्रममा बोल्दै प्राध्यापक राजुबाबु पहाडीले सिमामा नेपालीहरुलाई लुट्ने, चोर्ने र अनावश्यक दुःख दिने गरेको हुँदा उक्त समस्यालाई पनि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । त्यस्तै शिक्षिका शुभद्रा अधिकारीले अहिले पनि कालो बजारीहरु सक्रिय रहेको भन्दै अनुगमन चाडपर्वमा मात्र नभई सधैँ हुनुपर्ने बताईन् । कार्यक्रममा अर्का वक्ता हेमन्त ढुङ्गेलले दशैँको समयमा भारतीय नोट साट्न नपाएर नेपालीले दुःख पाएको गुनासो गरे ।
कार्यक्रममा बोल्दै मकवानपुर बहुमुखी क्याम्पसका साहायक क्याम्पस प्रमुख यमबहादुर सिलवालले भारत र नेपालको सिमानामा बैंक स्थापना गरि बैंकबाट कारोबार गर्ने ब्यवस्था मिलाउन समेत संघिय सांसदलाई पहल गर्न अनुरोध गरेका थिए । कार्यक्रममा स्वास्थ्यकर्मी प्रमिला ढुङ्गेल, समाजसेवी ह्यग्रिव आचार्य लगायत कानुन ब्यवसायी , प्राध्यापक, समाजसेवीहरुको सहभागिता रहेको थियो ।
























