प्रदेश ३ सरकारले उन्नत जातका बाख्रा पालनलाई प्रवद्र्धन गर्ने
हेटौंडा । प्रदेश ३ सरकारले उन्नत जातका बाख्रा पालनलाई प्रवद्र्धन गर्न रु ३ करोड खर्चगर्नेगरी बिशेष कार्यक्रम ल्याउने भएको छ ।
सरकारले कृषक समुह , सहकारी र निजी क्षेत्रसंगको साझेदारीमा बाख्रा सम्बन्धि अनुसन्धान गरी बाख्रा पालन व्यवसायलाई विकास र विस्तार गर्न यस कार्यक्रम सुरुगर्न लागेको हो ।
उन्नत जातका बाख्राहरुको अध्ययन , अनुसन्धानगरी उत्पादन बढाएर किसानहरुलाई राम्रो आम्दानी दिन यो कार्यक्रम गर्न लागेको प्रदेशका भुमि व्यवस्था , कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले बताउनुभयो ।
मन्त्री लामाका अनुसार सरकारले प्रदेशका विभिन्न पाँच वटा जिल्लामा बाख्रा अनुसन्धान र विस्तार कार्यक्रम गर्न लागेको छ । मन्त्रालयले मकवानपुर, चितवन, धादिङ्, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका किसानलाई लक्षित गर्दै यो कार्यक्रम गर्न लागेको उहाँको भनाई छ ।
उहाँका अनुसार मकवानपुरको इन्द्रसरोवर र भिमफेदी गाउँपालिका, चितवनको राप्ति नगरपालिका , रामेछापको खाँडादेवी गाउँपालिका, सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका र धादिङको बेनीघाट , रोराङ्ग गाउँपालिकाका किसानलाई लक्षित गरेर कार्यक्रम गर्न लागिएको छ ।
यस कार्यक्रम मार्फत व्यवस्थित ढंगले बाख्रा पालन गरेर देशको कृषि क्षेत्रमा योगदान दिन चाहने बाख्रा पालन फारमहरुलाई रु ५० लाख सम्म अनुदान रकम दिने मन्त्री लामाले जानकारी दिनुभयो ।
अनुदानका लागि सूचना समेत प्रकाशित भईसकेको उहाँको भनाई छ । “ यो कार्यक्रममा हाम्रो मुख्य लक्ष्य भनेको उन्नत जातका वाख्रा भित्रयाउनु नै हो ” उहाँले भन्नुभयो ।
























