हेटौंडामा खाना महोत्सव हुदै ,नेपाली खाना ‘ढिडो विशेष’

मकवानपुर । प्रदेश ३ को राजधानी हेटौंडामा सडक खाना महोत्सव हुने भएको छ ।

इश्वी सम्वत् नयाँ वर्ष २०२० को अवसरमा पुस ११,१२ र १३ गते हेटौंडाको खेल मैदान हुप्रचौरको पूर्वी सडकमा खाना महोत्सव हुने सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । होटल एसोशियसन मकवानपुरको आयोजनामा विगत १० वर्ष देखि खाना महोत्सव हुँदै आइरहेको छ ।

‘सडकमै जाऔं सडकमै खायौं र सडकमै रमाउँ’ भन्ने मुल नाराका साथ खाना महोत्सवको तयारीमा लागिएको एसोशियसनका अध्यक्ष शंकरलाल श्रेष्ठले बताए । भ्रमण वर्ष २०२०को सन्र्दभमा आन्तरिक तथा छिमेकी राष्ट्र भारतका पर्यटकहरुलाई आकर्षित गर्न सहयोग पुग्ने र मकवानपुर पर्यटक पथ प्रदर्शक पुस्तिकाको विमोचन समेत गरि महोत्सव गरिने अध्यक्ष श्रेष्ठले बताए ।

यस वर्षको खाना महोत्सवमा मकै, फापरको ढिडो विशेष रहने आयोजकले जनाएको छ । ४० वटा विभिन्न शाहाकारी र माशांहारी परिकारका स्टल रहने एसोशियसनका महासचिव विष्णुगोपाल महर्जनले बताए । महोत्सव हुने प्रत्येक दिन विभिन्न साँस्कृतिक कार्यक्रम हुने र १२ गते राष्ट्रिय स्तरका कलाकार रन्जित परियार र चिजा तामाङले आफ्नो प्रस्तुती दिने महासचिव महर्जनले बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश ३ को सहयोगमा र सीजी ब्रअरी प्रायोजकको रुपमा रहेको छ । हेटौंडा उपमहानगरपालिका, हेटौंडा ४ वडा कार्यालयसहित विभिन्न संघ संस्थाहरुको सहयोग रहने महर्जनले बताए ।

महर्जनका अनुसार महोत्सवमा १५ लाख बराबरको कारोबार रहने र ८ लाख स्टल व्यवस्थापनमा खर्च हुने अनुमान रहेको बताए । महोत्सवभर ७५ हजार खानाका पारखीहरुले अवलोकन गरिने अनुमान आयोजकको रहेको छ । महोत्सव उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*