गाउँपालिका अध्यक्ष दम्पत्तिको अपहरण श्रीमानको अवस्था अज्ञात, श्रीमती जंगलमा फेला

दैलेख– अपहरणमा परेका दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला फेला परेकी छिन् ।

उनी जंगलमा फेला परेकी हुन् । तर सँगै अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भने अज्ञात छ ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी पूर्णचन्द्र जोशीले अपहरण गरेर लैजाने समूहले शाहीलाई जंगलमा छोडेर गएको जानकारी दिए ।

गाउँपालिका अध्यक्ष शाही नेकपा जिल्ला कमिटी सदस्यसमेत हुन् भने उनकी श्रीमती इला नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष हुन् ।

उनीहरुलाई शनिवार राति अज्ञात समूहले अपहरण गरेको हो । शनिबार राति साढे १२ बजेतिर शाही र उनकी श्रीमती अपहरणमा परेका थिए ।
घरमै सुतिरहेका उनीहरुलाई अज्ञात समूहले अपहरण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

करीब १५ जनाको समूहले गाउँपालिका अध्यक्षसहित उनकी पत्नीलाई अपहरण गरेपछि उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपि हरी ओलीले भने–‘अपहरणको खबर आएको छ । हामीले खोजी कार्यलाई तिव्रता दिएका छौं ।’

नेकपाका विदेश विभाग उपप्रमुख रहेका विष्णु रिजालले हिजो राती ठॉटीकॉध(२ को श्रीपाटामा रहेको आफ्नै घरबाट मध्य राती अपहरण गरेर बिजारेको जंगल हुँदै कालीकोटको भर्तांतिर लगिएको जानकारी आएको जनाएका छन् ।

दैलेखमा डीएस्पी हरि ओली, सुर्खेतमा डीआइजी पूर्णचन्द्र जोशी र काठमाडौंमा गृहसचिव प्रेम राईसँग समन्वय भइरहेको उनले जनाएका छन् । । लेकमा हिउँ परेको छ बताउँदै उनले दैलेखको तिलेपाटा र कालीकोटतिरबाट पनि प्रहरी परिचालन भइसकेको जानकारी दिए ।

उक्त घटनामा विप्लव नेकपाका नेताहरुको संलग्नता रहेको हुनसक्ने आशंका गरिएको छ ।

गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै विप्लव समूहका कार्यकर्ताले अध्यक्ष शाहीलाई केही समयअघि चेतावनी पत्र दिएका थिए । सोही कारण शाहीको अपहरणमा विप्लव समूहको संलग्नताको आशंका गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*