प्रदेश ३ को नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम
हेटौंडा,२७ पुस । प्रदेश ३ ले झन्डै दुईवर्ष पछि आजबाट प्रदेश को नाम बागमती र स्थायी राजधानी हेटौंडा पाएको छ । आज आईतबार बसेको प्रदेशसभा बैठकले प्रदेश ३ को नाम बागमती र स्थायी राजधानी हेटौंडाले पूर्णता पाएको हो ।
शनिबार राजधानीको लागि मकवानपुरको हेटौंडा र काभ्रेको धुलिखेल प्रदेशसभामा प्रस्ताव दर्ता भएको थियो । नेकपा प्रदेश ३ संसदीय दलका नेता तथा मुख्यमन्ती डोरमणी पौडेलले शनिबार प्रदेश ३ को स्थायी राजधानीको लागि हेटौंडा प्रस्ताव गरेका थिए । मुख्यमन्त्रीको प्रस्तावमा कांग्रेस प्रदेश ३ संसदीय दलका नेता ईन्द्र बहादुर बाँनीयाले समर्थन गरेका थिए । यस्तै शनिबार नै प्रदेश ३ को स्थायी राजधानी कोभ्रेको धुलिखेलको लागि विवेकशिलका रमेश पौडेलले प्रस्ताव गरेका थिए । प्रदेशसभा सदस्य पौडेलको प्रस्तावमा बिराजभक्त श्रेष्ठ र शोभा शाक्य समर्थन जनाएका थिए ।
आज आईतबार बिहान बसेको प्रदेशसभाको पहिलो बैठकमा प्रदेशको स्थायी राजधानीको लागि मतदान भएको थियो । ११० जना प्रदेश सदस्य रहेको प्रदेशसभामा प्रदेश ३ को स्थायी राजधानी मकवानपुरको हेटौंडाको लागि १०५ जना प्रदेश सदस्यले मतदान गरेका थिए भने ३ जना प्रदेश सदस्यले काभ्रेको धुलिखेलको लागि मतदान गरेका थिए । प्रदेश ३ को स्थायी राजधानीको लागि मकवानपुरको पक्षमा बहुमत हुँदा प्रदेश राजधानी हेटौंडा घोषणा गरिएको छ ।
यस्तै आज भएको दोस्रो प्रदेशसभा बैठकमा प्रदेश ३ को नाम बागमती घोषणा गरिएको छ । प्रदेश ३ को नामको लागि एक मात्र नाम बागमती प्रस्ताव गरिएको थियो । आईतबार प्रदेश ३ को नाम बागमती राख्ने काङ्ग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रस्तावमा मतदान हुदाँ १०८ प्रदेश सदस्यले प्रदेशको नाम बागमती राख्ने पक्षमा मतदान गरेका थिए ।
























