आज माघे सङ्क्रान्ति , हर्सोल्लासका साथ मनाइदै

१ माघ । प्रत्येक वर्ष माघ महिनाको १ गते माघे सङ्क्रान्ति मनाइन्छ । माघ १ गतेबाट नै सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । सामान्यतया सूर्यले १२ वटा राशिलाई नै प्रभाव पार्ने भए पनि कर्कट र मकर राशिमा सूर्य प्रस्थान गर्ने दिनलाई चाहिँ विशेष मानिन्छ । साउन १ गतेका दिन सूर्य कर्कट राशिमा प्रवेश गर्दछ । यस दिनबाट नै सूर्य दक्षिणी गोलार्धतिर लाग्ने भएकाले यसबेलादेखि दक्षिणायन सुरु हुन्छ । यस दिन लुतो फाल्ने, कण्डारक पूजा गर्ने आदि विभिन्न संस्कृतिहरु छन् ।

यही सूर्य नै माघ १ गतेबाट मकर राशिमा प्रवेश गरेसँगै उत्तरायण सुरु हुन्छ । योगी तथा सन्यासीहरु उत्तरायणको समयमा नै शरीर त्याग्न चाहन्छन् ।महाभारतका प्रसिद्ध पात्र भीष्म पितामहले पनि यही समयमा प्राण त्यागेका थिए ।

यसै दिनदेखि नै दिन लामो र रात छोटो हुँदै जाने गर्दछ । तर आज भोलि भने पुष ७ गतेबाट नै दिन लामो र रात छोटो हुन सुरु हुन्छ । विभिन्न भाषाभाषी र समुदायले यस पर्वलाई मनाउने भएकाले आफ्नै सङ्स्कृतिअनुसार यस पर्वको नामहरु पनि फरक–फरक छन् । नाम फरक भए पनि यस पर्वलाई अधिकांश नेपाली समुदायले विशेष पर्वको रुपमा मान्दछन् । माघे सङ्क्रान्ति पर्व नेपालभरका विभिन्न नदी, तलाउ, त्रिवेणीमा गइ स्नान गरी पूजाआजाका साथ तिलको लड्डु, घिउ, चाकु, तरुल आदि खाएर मनाइन्छ ।

यस दिन कपडा, घिउ, चाकु, तरुल, तिलको लड्डु, सागपात आदि दान गरेमा विशेष पुण्य पाइने र खाएमा निरोगी भइने विश्वास रहेको छ । शिशिर ऋतु सुरु गराउने यस पर्वमा घिउ, चाकु, तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिनुका साथै मास हालेर पकाइएको तेल शरीरमा घस्दा छालासम्बन्धी सबै रोग नाश हुने विश्वास छ । वैज्ञानिक हिसाबले हेर्ने हो भने पनि मानिसको शरीरको लागि चाहिने पोषक तत्वहरुलाई यस दिन नै खानु भन्नाले यस पर्वले मानिसको स्वास्थ्यलाई बलियो बनाउन खोजेको हुनाले यसको सन्देश सकारात्मक नै देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*