अनन्त उपसभामुख तुम्बाहाङफेले दिइन् राजीनामा
६ माघ, काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहाङ्फले राजीनामा दिने घोषणा गरेकी हुन् ।
‘प्रतिनिधिसभामा बहुमत प्राप्त दलले प्रतिनिधिसभामा नेतृत्वको दावा गरेको अवस्थामा सहजीकरणका लागि मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदन समक्ष निवेदन गर्न चाहन्छु ।’
लगतै संसद सचिवालयमा राजीनामा पत्र दर्ता गराएकी छन् । तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि तुम्बाहाङफेले सभामुखमा दाबी गरेकी थिइन् । सत्तारुढ नेकपाको सचिवालयले राजीनामा दिन आग्रह गर्दासमेत उनले आफूलाई सभामुख बनाउने निर्णय गर्नुपर्ने शर्त राखेकी थिइन् ।
सोमबार उपसभामुखबाट राजीनामा दिँदा पनि उनले सभामुखमा आफ्नो दाबी स्वभाविक भएको बताइन् ।
























