वुहानबाट १७५ नेपालीको उद्धार गरी क्वारेन्टाइन पुर्‍याइयो

१४ दिनसम्म भेटघाट गर्न नपाइने

काठमाडौं, ४ फागुन । कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तबाट ल्याइएका नेपालीहरुलाई भक्तपुरस्थित खरिपाटीमा बनाइएको ‘क्वारेन्टाइन’मा पुर्‍याइएको छ ।

आज बिहान करिब साढे तीन बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका १७५ जनालाई भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याइएको हो ।

उनीहरुलाई एउटा एम्बुलेन्स र पाँचवटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर विमानस्थलदेखि खरिपाटीसम्म पुर्‍याएका हुन् । क्वारेन्टाइन लैजानुअघि विमानस्थलमा अवतरण भएपछि उनीहरुको स्वास्थ्य अवस्था जाँचिएको थियो ।

उद्धार गरिएकामा १७० जना विद्यार्थी, एक जना कामदार र पर्यटक तथा बालबालिका दुई–दुई जना छन् । वुहानमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, ६ क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १६ चिकित्सकसहितको टोली चीन गएको थियो ।

नेपाल फर्किन दूतावासमा निवेदन दिएकामध्ये १० जना चीनमै रोकिएका छन् । बेइजिङस्थित नेपाली दूताबासको अनुसार चारजनाले उतै बस्ने जनाएका छन् । फर्किन तयार ६ जनामा शरीरको तापक्रम बढी देखिएपछि आउन पाएनन् ।

क्वारेन्टाइनमा उपयोग गरिने तालिम केन्द्रका भवन, कोठा, प्रयोग गरिएका सामानको उचित सङ्क्रमण रोकथाम व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा रहँदा विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने र कसैलाई रोग लागेको शङ्का हुनासाथ उपचारका लागि अस्पतालमा आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ ।

क्वारेनटाइनमा दुईवटा भवनमा पुरुष, एक वटा रातो भवनमा र महिला निर्देशकको क्वाटरमा एक जना डाक्टर र एक जना नर्सलाई राख्ने गरी व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा बस्नेकाहरूका प्रत्येक दिन ज्वरो नाप गरिने र ज्वरो एवं रुघा लागेमा तत्कालै एम्बुलेन्समा हालेर टेकु अस्पताल लैजाने व्यवस्था गरिएको बताइएको छ । कवारेन्टाइनमा राखिएकालाई २ सातासम्म अभिभावकले भेट्न पाउने छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*