एक हप्तामै मकवानपुरमा रोकियो ८ जोडी बालविवाह
हेटौंडा । मकवानपुर विभिन्न स्थानका गरेर एक साता अवधिमा ८ जोडीको बाल विवाहमा रोक लगाइएको छ । भिमफेदी गाउँपालिकाका ५ जना बालिका र २ जना बालक र २ जना युवक गरी जम्मा ९ जना, बकैया गाउँपालिकाका १ जना बालिका, १ जना बालक र १ जना युवक गरी जम्मा ३ जना, मकवानपुर गढी गाउँपालिकाका १ जना बालिका र हेटौंडा नगरभित्रका २ जना बालिका र १ जना बालक गरी जम्मा ३ जना गरी जम्मा १६ जना अर्थात् ८ जोडीको विवाह रोक्न सफल भइएको सिविन बाल हेल्पलाइन मकवानपुरका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।
स्थानीय गाउँपालिका र वडा कार्यालयको नेतृत्वमा प्रहरी, सामाजिक विकास मन्त्रालय, सिविन बाल हेल्पलाइन सँगको समन्वय र सहकार्यमा बालिकाहरु उद्धार पश्चात् मनोसामाजिक मनोविमर्श सेवाको लागि बाल हेल्पलाइनको संरक्षण गृहमा रहेका छन् । सुरुमा बालबालिकाहरु आपूmखुशी प्रोम विवाहको लागि घर छोडेर भागेर हिँड्दा परिवारको आपत्ति रहने र जब उद्धार गरिन्छ तब केहीको परिवार पनि बालविवाहलाई नै समर्थन दिने पक्षमा प्रस्तुत हुने गरेकाले यस चुनौतिका बिचमा बालविवाह रोक्न निकै चुनौतिको सामना गर्नुपरेको बाल हेल्पलाइनले बताएको छ ।
जिल्ला र स्थानीय तह बालमैत्री अभियानमा जुटिरहेका बेला समुदायमा यस्ता प्रकृतिका बालविवाह, विद्यालय छाड्ने दर बढ्दो मात्रामा हुनु निकै चुनौतिको कुरा हो, यसको सामना गर्न र व्यवस्थापन गर्न सबै पक्षको साथ र अथक प्रयास अत्यावश्यक रहेको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनुभयो । सामाजिक विकास मन्त्रालय बालविवाह मुक्त प्रदेश सहजकर्ता पबिना लामाले वागमती प्रदेशलाइ सन २०८० सम्ममा बालविवाह मुक्त प्रदेश बनाउने अभियान थालिएको जानकारी गराउनु भयो ।
यसरी विवाह गर्ने र गर्न प्रयास गर्ने बालिकाहरुको उमेर समूहलाई हेर्दा २ जना बालिका १४ वर्षका, ३ जना १५ वर्षका र ३ जना १६ वर्षको उमेरका रहेका छन् । भने यी बालिकाहरुसँग विवाह गर्ने वा गर्न प्रयास गर्ने बालकहरु भने ६ जना २० वर्ष मुनिका रहेका छन् भने २ जना २१ र २२ वर्ष उमेरका रहेका छन् । उद्धार गरिएका यी सबै बालिकाहरु विवाह गर्ने ध्येयले घर छोडेर हिँड्नु अघिसम्म विद्यालय निरन्तर गइ आएका बालिकाहरु स्वयम्ले नै बताए ।
























