गृहमन्त्री थापा हेटौंडामा – बाँस्कोटाविरुद्ध सरकारले छानबिन गर्ने भनाई
हेटौंडा । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध छानबिन हुने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएपछि बिहीबार राजीनामा दिएका बाँस्कोटाविरुद्ध सरकारले छानबिन गर्ने गृहमन्त्री थापाको भनाइ छ ।
‘बाँस्कोटाजीले नैतिकताका आधारमा राजीनामा दिनुभएको छ,’ वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न हेटौंडा आएका थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘यो विषयमा सरकारले आवश्यक छानबिन गर्नेछ । उहाँको विरुद्ध सरकारका विभिन्न निकायले आवश्यक अनुसन्धान गर्नेछ ।’
नेकपा सचिवालय बैठकमा पार्टीबाट पनि छानबिन हुनु पर्ने माग उठिरहेको बेला सचिवालय सदस्य रहेका थापाले बाँस्कोटाविरुद्ध सरकारका निकायले मात्रै छानबिन गर्ने बताएका छन् । उनले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०को बहस पनि उपयुक्त ढंगले टुंगो लगाउने दाबी गरे । एमसीसीको विषयमा सत्तारुढ दलले गठन गरेको कार्यदलको प्रतिवेदन अध्ययन भइरहेको भन्दै उनले प्रतिवेदनको आधारमा सदनबाट अनुमोदन हुने बताए । एमसीसी पारित भएपछि नेपालको विद्युत् र सडक पूर्वाधारमा ठूलो लगानी भित्रिने उनको भनाइ थियो ।
नेपाल९भारतबीचको सीमा विवाद कूटनीतिक ढंगबाट टुंगो लाग्ने मन्त्री थापाले बताए । उनले भने, ‘परराष्ट्र मन्त्रालयले यो विषयमा आवश्यक पहल गरिरहेको छ,’ ‘सरकारले छिट्टै दुई देशबीच यो विषयमा कूटनीतिक तवरमा वार्ता हुनेछ ।’ सुरक्षा गोष्ठीमा वाग्मती प्रदेशअन्तर्गत् १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरीलगायत सहभागी छन् ।
























