फ्रान्सबाट कतार हुँदै फर्किएकी नेपाली विद्यार्थीलाई कोरोनाको सङ्क्रमण भएको पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा एक व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको बताएको छ। उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी एक १९ वर्षीया विद्यार्थी भएको जानकारी मन्त्रायलले सोमवार मध्याह्न आकस्मिक प्रेस सम्मेलन गरेर दिएको हो।

मन्त्रालयले प्रेस सम्मेलन गर्नुभन्दा केही घण्टाअघि नै विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा नेपालमा दुई जनामा सङ्क्रमण भएको विवरण देखिएको थियो। केही साताअघि चीनको वुहानबाट फर्किएका एक नेपाली युवकलाई सङ्क्रमण भएको पुष्टि भएको थियो। अहिले उनी पूर्ण स्वस्थ भइसकेको बताइएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म झन्डै ६०० वटा नमुनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

पीसीआर विधिबाट गरिएको परीक्षणमा तीमध्ये दुईवटामा कोरोनाभाइरस भएको पुष्टि भएको हो।

को हुन् सङ्क्रमित व्यक्ति ?
नाम र ठेगाना गोप्य राखिएकी ती कोभिड(१९ की बिरामीको शुक्रराज सरुवारोग नियन्त्रण अस्पताल टेकु, काठमाण्डूमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले पत्रकारहरूलाई बताएका छन्।

युरोपमा महामारी फैलिएपछि उनी फ्रान्सबाट कतार हुँदै चैत्र पहिलो साता त्रिभुवन विमानस्थल हुँदै नेपाल फर्किएको बताइएको छ।

डा. देवकोटाले भने, चैत ४ गते नेपाल आएपछि उहाँ घरमा क्वारन्टीनमा लक्षणविहीन अवस्थामा घरमै हुनुहुन्थ्यो। हिजो परीक्षण गर्दा उहाँमा कोभिड-१९ पोजिटिभ देखियो। उहाँसँग सम्पर्कमा आएका सबैलाई क्वारन्टीनमा राखिएको छ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार ती बिरामी महिलाको अवस्था ठिक छ।

उनको सम्पर्कमा आएका सबैलाई खोजेर क्वारन्टीनमा राख्ने प्रयास भइरहेको र उनीसँगै विमानमा आएका अन्य यात्रीको पहिचान गर्ने प्रयास भइरहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*