हेटौंंडामा कोरोना परीक्षण हुने
१७ चैत्र,हेटौंडा । चिनबाट कोरोना परिक्षणका लागि आएका सवै सामाग्री आज प्रदेश राजधानी हेटौंडामा आइपुग्ने र केही दिनमा कोरोनाको परिक्षण हुने बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले वताउनुभयो । हेटौंडाको कीटजन्यरोग अनुसन्धान केन्द्र भिभिडी आरटिसी मा रहेको प्रयोगशालालाई व्यवस्थित बनाएर कोभिड १९ को परीक्षण गरिन लागिएको छ ।
हेटौंडामानै त्यहीँ स्वाब संकलन गरेर त्यहि परीक्षण गर्ने र संक्रमित पाइएमा त्यहीँ उपचारका लागि व्यवस्था गरिएको मन्त्री दुलालले वताउनुभयो । सरकारले किनेको, ज्याक मा फाउन्डेसन, र चीनको सिचुवान प्रान्तीय सरकारले दिएको विभिन्न सामग्री हेटौंडा पनि आइपुग्न लागेको हो । हेटौंडा आउने स्वास्थ्य सामग्रीमा गगल्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री, इन्फ्रारेड थर्मो्मिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु रहेको मन्त्री दुलालले वताउनुभयो ।
मन्त्री दुलालले प्रदेश नं २ का विभिन्न जिल्लालाई समेत पायक पर्नेगरी हेटौडामा प्रयोगशाला सञ्चालन गर्न लागिएको उल्लेख गर्नभयो । संक्रमितलाई राख्नका लागि प्रदेश सरकारले मात्र सघन उपचार कक्षसहितको तीन सयभन्दा बढी आइसोलेशन कक्ष निर्माण गरिएको छ । मन्त्री दुलालले सबै आइसोलेशन कक्षमा सम्पूर्ण उपकरणसहितको चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्था गरिएको जानकारी दिनुभयो ।
हेटौंडाको श्रमिक माविमा तयार गरिएको आइसोलेसनमा कोरोनाको संका लागेका विरामीको परिक्षण गर्न सुरु गरिसकिएको छ । बागमती प्रदेशमा ६ सय २३ शय्याको आइसोलेसन तयार पारिएको छ । आइतबारसम्म प्रदेशमा ६ सय २३ तयारी अवस्थामा रहेको र एक सय ७२ शय्याको आइसोलेसन तयारीको क्रममा रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले एक सय ४८ वटा आइसियू वार्ड तयारी अवस्था रहेको जनाएको छ । २३ वटा आइसियू तयार पारिँदै छ । मन्त्रालयको तथ्यांकअनुसार प्रदेशमा दुई हजार ७५ शय्या क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ । तयार पारिएको क्वारेन्टाइनमा हाल पाँच सय ८९ जना बसिरहेका छन् ।
























