मकवानपुर आउन नपाएका नागरिकलाई आज ल्याइने
वैशाख ११,हेटौंडा । एक महिना देखिको लकडाउनका कारण मकवानपुर आउन नपाएका नागरिकलाई यहाँका जनप्रतिनिधिहरुको पहलमा आज ल्याइदै छ । काठमाण्डौमा कामको शिलशिलामा रहेका नागरिकलाई आज यहाँका जनप्रतिनिधिहरुको पहलमा १५ वटा वसमा ल्याउन लागिएको हो ।
काठमाण्डौमा रहेका मकवानपुरको पस्चिमी क्षेत्र र पुर्व क्षेत्रका नागरिकलाई वसमा ल्याउन लागिएको मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले जानकारी दिनुभयो । हेटौंडाबाट १५ वटै वस काठमाण्डौ तर्फ छुटेका छन् । आज साँझ काठमाण्डौको कलंकीबाट लकडाउनमा अलपत्र परेका नागरिकलाई ल्याउन लागिएको हो ।
काठमाण्डौ रहेर मकवानपुर आउनुपर्ने नागरिकलाई आज साँझ ७ वजे सम्ममा कलंकीको मुल सडकमा निस्कन पनि उहाँले आग्रह गर्नुभयो । बिशेषगरी मकवानपुरको मनहरी, हेटौंडा, बागमती गाउँपालिका, वकैयाँ गाउँपालिका लगायतका क्षेत्रमा लगेर छोड्नेगरी वस लिन गएको हो ।
नारायणी यातायात व्यावसायी संघ र निजी विद्यालयसंगको सहकार्यमा मकवानपुर क्षेत्र नम्बर १ का सांसद तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, संघीय सांसद विरोध खतिवडा, प्रदेश सांसद कुमारी मोक्तान, माननीय ईन्द्र बानियाँ, प्रेमबहादुर पुलामी, बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलान, हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँको संयोजनमा अलपत्र यात्रु ल्याउन लागिएको हो । बस कलंकी, मुग्लन हुँदै मनहरी हेटौंडा रुट भएर आउने भएकाले काठमाडौँमा रहेका मकवानपुरका नागरिक आउन सक्नुहुनेछ ।
























