निको भएर घर फर्किएका युवक पुनःअस्वस्थ फेरि आइसोलेसनमा ल्याइयो

बैशाख २१,काठमाण्डौ । एक साताअगाडि निको भएर घर फर्किएका रौतहट, इशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई पुन नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको छ ।

शनिबार राति साढे ७ बजेतिर उनलाई घरबाट नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको हो । तीन भारतीय मुस्लिम धर्म प्रचारक र ती युवक गत आइतबार निको भएर नारायणी अस्पतालबाट डिस्चार्ज भएका थिए । कोरोना संक्रमण पोजिटिभ देखिएपछि रौतहटका युवकले गत वैशाख १ देखि नारायणी अस्पतालको आइसोलसन वार्डमा उपचार गराएका थिए ।

अस्पतालका अनुसार वैशाख १० र १३ मा कोभिड–१९ परीक्षण नेगेटिभ आएपछि वैशाख १४ मा डिस्चार्ज गरिएको थियो । डिस्चार्ज हुने खबर पाएपछि युवकलाई लिन उनका आफन्त एम्बुलेन्स लिएर नारायणी अस्पताल आएका थिए ।

स्वास्थ्यमा मस्या देखिएपछि शनिबार बेलुका उनलाई लिन स्वास्थ्यकर्मीको एक टोली रौतहट गएको थियो । रौतहटको इशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ताले कोरोनामुक्त भएर आएका युवकलाई पुनः वीरगञ्ज लगिएको पुष्टि गरे । ‘गाडीमा आएको एउटा टोलीले उनलाई पुनः वीरगञ्ज लगेको छ,’ गुप्ताले भने, ‘तर किन लगिएको हो भन्ने थाहा छैन ।’

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले भने युवकको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ल्याइएको जानकारी दिए । ती युवकलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*