कर्णाली प्रदेशका सबै नाका सिलबन्दी
बैशाख २३,कर्णाली । छिमेकी प्रदेशहरु प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश सरकारले सात दिनका लागि प्रदेश नै सिल गर्ने भएको छ। कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द सिल गर्ने निर्णय गरेको छ । प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग पूर्ण रुपमा बन्द गरी लकडाउन मजवुत बनाउने निर्णय गरेको हो ।
कर्णालीसँग सीमा जोडिएको प्रदेश ५ को नेपालगञ्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेपछि सम्भावित जोखिम रोक्न प्रदेशको नाका सिल गरेको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए । भारतलगायत तेस्रो मुलुकबाट प्रदेशभित्र प्रवेश गरेका सबै नागरिकको अवस्था र विवरण सम्बन्धित स्थानीय तहले तयार पारी प्रदेश सरकारलाई जानकारी गराउने पनि बैठकले निर्णय गरेको छ ।
यस तथ्यांकको आधारमा प्रदेश सरकारले भारत र तेस्रो देशबाट आएका सबैको कोरोना जाँचको व्यवस्था गर्ने पनि केन्द्रको बैठकले निर्णय गरेको छ । बैठकले प्रदेशको दुर्गम स्थानमा स्थलमार्गबाट स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पुर्याउन नसक्ने अवस्था भए हेलिकप्टरबाट पठाउने निर्णय पनि गरेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
























