काठमाडौं र भक्तपुरमा पनि संक्रमित भेटिए,एकैदिन ८३ जनामा संक्रमण

वैशाख ३१,काठमाडौं । मंगलबार थप २६ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । बिहान ५७ जनामा कोरोना पुष्टि भएको थियो । यसैगरी एकै दिन कोरोना पुष्टि हुनेको संख्या ८३ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको पीसीआर नमुनाको परीक्षणमा मंगलबार ८३ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिए ।

मंगलबार साँझ कोरोना पोजिटिभ देखिएका काठमाडौं र भक्तपुरकासमेत रहेका छन्। सहप्रवक्ता अधिकारीका अनुसार भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। काठमाडौंकी एक ३३ वर्षीया महिलामा कोरोना देखिएको हो। यसअघि संक्रमण देखिएका उपत्यकका सबै निको भएका थिए।

सहप्रवक्ता अधिकारीका अनुसार साँझ पुष्टि भएका नयाँ संक्रमित पर्साका ६ महिला र १२ पुरुष गरी १८, महोत्तरी, धनुषा, भक्तपुरका दुईदुई गरेर छजना, काठमाडौं र सर्लाहीका एकएक जना गरेर जम्मा २६ जनामा कोरोना पोजिटिभ देखिएको हो। यसअघि दिउँसो पर्सामा दुई पत्रकारसहित ३९, रुपन्देहीका ९, कपिलवस्तुका ८ र बाराका एक गरेर ५७ जनामा कोरोना पुष्टि भएको थियो ।

मंगलबार एकै दिन ठूलो संख्यामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २१७ पुगेको हो । अहिलेसम्म उपचारपछि ३३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकामध्ये तीनको पुनः परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*