हेटौंडाकी बालिका बेच्न खोजेको आरोपमा एक महिला पक्राउ
मकवानपुर — हेटौंडाकी ७ वर्षीया बालिकालाई भारत लगेर बेचबिखन गर्न खोजेको भन्दै मकवानपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
भारत विहार बस्ने १९ की रानी भन्ने ज्योति चौधरीलाई प्रहरीले हेटौंडा–१५ पशुपतिनगरबाट बिहीबार पक्राउ गरेको हो ।
चौधरीले प्रदेश ३–०३–००१ ह ००६१ नम्बरको अटोमा बारा जीतपुर हुँदै बालिकालाई भारत लैजान खोजेको मकवानपुर प्रहरीले जनाएको छ ।
पशुपतिनगरस्थित पूर्वपश्चिम सडकखण्डबाट चौधरीलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । चौधरीलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
























