देशभर फैलियो मनसुनी वायु, अझै दुई दिनसम्म वर्षा हुने

८ असार, काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर वर्षा भएको छ । कतिपय स्थानमा बाढी र पहिरोसमेत आएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १२ देखि पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन आइतबार सुदूर प्रदेशसम्म फैलिएको छ । मनसुन अवधिभर पश्चिमी वायुको प्रभावलाई मनसुनी वायुले विस्थापित गर्दछ र वर्षा हुन्छ ।

मौसमविद मिन कुमार अर्यालले मनसुनी गतिविधि सक्रिय भएकाले देशभर मध्यम वर्षा भइरहेको बताए । अझै दुई दिनसम्म काठमाडौं उपत्यकासहित देशभर पानी पर्ने उनले बताए ।
‘मनसुनी हावा प्रशस्त छ । त्यसकारण अझै कम्तीमा दुई दिन देशभर वर्षा हुने नै देखिन्छ,’ उनले भने, ‘अहिले केही ठाउँमा रोकिए पनि फेरि पानी पर्छ ।’

देशका धेरै स्थानमा रातिदेखि नै हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । आज दिनभर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*