किन अस्वभाविक रुपले बढिरहेको छ सुनको मूल्य ?
काठमाडौँ– कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला सुनको मूल्य भने उकालो लाग्ने क्रम जारी छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले कोरोना भाइरस महामारीको वृद्धिसँगै सुनको मूल्य पनि बढीरहेको जानकारी दिए।
उनले कोरोना भाइरस नियन्त्रण नभएसम्म उकालो लागिरहेको सुनको मूल्य ओराला नलाग्ने बताए।
उनले भने, ‘अहिले संसारमा नै सुनको मूल्य दु्रत गतिमा बढिरहेको छ। अहिले सुनको मूल्य घट्ने संकेत देखिएको छैन। जबसम्म कोरोना भाइरस नियन्त्रणमा आउँदैन तबसम्म सुनको मूल्य बढ्छ।’
कोभिड–१९ का कारणले अर्थतन्त्र तथा लगानी क्षेत्रमा पारेको प्रभावले गर्दा सुरक्षित लगानीका लागि लगानीकर्ताहरुले सुनमा लगानी गरेकाले वृद्धि भएको उनको भनाइ छ।
‘सबै लगानी क्षेत्रमा यसको प्रभाव परेकोले सुरक्षित लगानीका लागि सबैले सुनमा लगानी गरिरहेका छन्, जसले गर्दा मूल्य अस्वभाविक रुपमा बढेको हो’, उनले भने ।
उनले अहिले सुनमा लगानी गर्ने उपयुक्त समय पनि बताए। ‘विश्व सुन काउन्सिलले नै सन् २०२१ मा सुनको भाउ ४० प्रतिशतले बढ्ने भनेको छ’, उनले भने ‘डलरको ब्याज बढ्नु, डलरको विकल्प खोज्नु, बेरोजगारी बढ्नु, अर्थतन्त्रमा समस्या पर्दै जानु जस्ता कारणले पनि अब सुनको भविष्य राम्रो हुँदै जान्छ।’
उनले अहिले सुनमा लगानी गरेमा एक वर्षपछि ४० प्रतिशत नाफा गर्न सकिने बताए। यस्तै उनले सुनको मूल्य वृद्धि हुनुमा अमेरिका–चीनको व्यापारी द्धन्द्धले पनि निकै प्रभाव पारेको बताए।
यसैगरी उनले नेपालको इतिहासमै सुन महंगो भएको बताए। ‘सुन नेपालको इतिहासकै महंगो हो’ उनले भने ‘तर अन्तराष्ट्रिय बजारका लागि भने होइन।’
बजारमा सुनको मूल्य बढेसँगै सुन किन्ने भन्दा बेच्ने ग्राहकहरु बढी आउने गरेको उनले जानकारी दिए। ‘कोरोना भाइरसका कारणले करिब तीन महिनासम्म लकडाउन भयो’ उनले भने ‘जसले गर्दा मानिसहरुको आम्दानीको स्रोत बन्द भयो। उनीहरुलाई घर खर्च जोहो, ऋण, लगायतका समस्याले घरबास बेच्नु भएन। र अहिले वर्तबन्धन तथा विहे पनि पहिले जस्तो भएका छैनन्। नयाँ अर्डर आउने कुरा नि भएन।’
शुक्रबार सुन ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत बुधबार सुनको मूल्य बढेर ९१ हजार १०० मा कारोबार भएको थियो जुन इतिहासकै महँगो हो ।
प्राय अफ सिजनमा सुनको मूल्य घट्ने गरे पनि अहिले त्यो अवस्था देखिएको छैन। सुनको मूल्य लगातार बढिरहेको छ। अफ सिजन ९असार–साउन० मा सुनको मूल्य बढ्ने सन्दर्भमा उनले नेपालको बजारले मूल्य निर्धारण गर्ने बेलाको अवस्था भएको बताए।
तर अहिले अन्तराष्ट्रिय बजारबाटै मूल्य निर्धारण हुने भएकाले उनले अफसिजन ९असार–साउन० मा घट्ने र अन्य बेला बढ्ने अवस्था अहिले नरहेको बताए।
कोरोना महामारीले विश्वको अर्थ व्यवस्था खस्किँदै गएकाले फेडेरल रिजर्भ बैंकले ब्याजदर घटाउनु, अमेरिकामा बेरोजगारी बढ्नु, अर्थतन्त्र कमजोर हुनु, डलरको विकल्पहरुको खोजी हुनु लगायतका कारणले आगामी दिनहरुमा सुनको महत्व तथा मूल्य बढ्दै जाने उनले बताए।
सरकारले सुन धितो राखेर ब्याज पाइने भने पनि त्यसको कार्यान्वयनमा समस्या देखिएको उनले बताए।
सरकारको यस्तो व्यवस्थाले निर्णले गहना राखेर ब्याज लिनेहरु पनि यस तर्फ आर्कषित नभएको उनको भनाइ छ। ‘ब्याज नपाइने व्यवस्थाले मान्छे आर्कषित भएनन्’ उनले भने ‘अर्को कुरा सरकारले २।५ प्रतिशत ब्याज दिने भन्यो। जुन साहै थोरै ब्याज हो।’ उनले अहिले वर्षेनी ६० अर्बको सुन कारोबार हुने गरेको बताए।
नेपालमा हाल २३ हजार सुन पसल छन्। उक्त पसलहरुमा काम गर्ने कालिगढहरुको संख्या करिब ५० हजार रहेको उनले जानकारी दिए।
५० हजार कालिगढमध्ये उपत्यकाका ६० प्रतिशत कालिगढ विदेशी रहेका छन् भने देशभर ४० प्रतिशत कालिगढ विदेशी रहेको उनले जानकारी दिए।
अब विदेशी कालिगढ हटाएर स्वदेशी कालिगढ प्रयोग गर्नुपर्ने र यसमा सरकारले पनि सहयोग गर्नु पर्ने उनको भनाइ छ।
























