आज असार १५ राष्ट्रिय धान दिवस मनाईंदै
हेटौंडा। आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । रोपाईं गरेर राष्ट्रिय धान दिवस मनाईंदै छ । नेपालमा वि.सं. २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । धान दिवसका अवसरमा किसानहरु रोपाईंमा रमाउँदै छन् । मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा किसानहरु धान दिवसमा रोपाईंमा रमाउन लागेका हुन् ।
असार १५ लाई खेतमा हिलो छ्यापाछ्याप गर्ने र दही च्युरा खाने दिनका रुपमा लिइन्छ । खेतका गरामा पानी भएका कृषकहरु रोपाईंमा रमाउने भएपनि मुलुकका कतिपय स्थानका किसान भने सिंचाइ सुविधाको अभावमा आफ्ना खेत बाँझो राख्न वाध्य छन् ।
सबै खेतीयोग्य जमिनमा सिंचाइको सुविधा नहुँदा तथा काम गर्ने युवा जनशक्ति विदेश जाने क्रम बढ्दा कृषिप्रधान मुलुक चामलमा परनिर्भर बन्दै गएको छ । नेपालमा मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा धान खेती हुने गरेको छ ।
























