बझाङमा पहिरो – एकै घरका तीन जनाको शव फेला

बझाङ, २० असार । बझाङको केदारस्युँ गाउँपालिका वडा- ८ को एक बस्तीमा पसेको पहिरोमा तीन जनाको शव फेला परेको छ ।

पहिराले पुरेका घरहरूभित्र उत्खननका क्रममा एकै घरका तीन जनाको शव भेटिएको हो । उनीहरू आमा ५० वर्षिया राममति जेठारा, छोरा १३ वर्षिय प्रयाग जेठारा र छोरी ७ वर्षिया अस्मिता जेठारा रहेको जनाइएको छ । साथै, ७ वटा बाख्रा, ३ भैँसी र ३ वटा गाई समेत फेला परेका छन् । ४ जना अझै पहिरोमा बेपत्ता रहेको र खोजी कार्य जारी रहेको बताइएको छ ।

पहिरोका कारण १८ घर पुरिएका छन् । दुई वटा घरमा क्षति पुगेको छ । यद्यपि घटनास्थलमा प्रहरीको टोली अझैसम्म पनि पुग्न नसकेकाले क्षतिको एकिन विवरण आइसकेको छैन । गाउँलेहरुले नै पहिरोमा वेपत्ता भएकाहरुको खोजी गरिरहेको स्थानीय लोकेन्द्र विकले बताए ।

शनिवार विहान करिब २ बजेतिर पहिरो आएको स्थानीय बताउँछन् । मल्लेसी गाउँमा ४० परिवारको बसोबास छ ।

जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तथा कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली घटनास्थल पुग्न प्रयासरत रहेको प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले बताए ।

मल्लेसी गाउँ खोलैखोला भएर जानुपर्ने हुन्छ । तर खोलामा बाढी आएको र माथिबाट पहिरो पनि खसिरहेका कारण उद्धार टोली त्यहा“ पुग्न नसकेको डिएसपी गणेश बमले जानकारी दिए ।

घटनास्थलमा पठाउनका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । तर त्यहा“ हेलिकप्टर आवश्यक भए–नभएको एकीन गरेपछि मात्रै उड्नका लागि अनुरोध गरिने प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*