सुस्मिता हत्याकाण्डका ४ जना अभियुक्त कारागार चलान
हेटौँडा । हेटौंडाकी सुस्मिता केसी (थापा) को हत्या आरोपित ससुरासहित ४ जनालाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । बुधबार न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले सुस्मिताको हत्यामा संलग्न ४ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिए ।
हत्या आरोपी ससुरा ५८ वर्षीय प्रकाश थापालाई भीमफेदी कारागार पठाइएको छ । सासु ५० वर्षीया तुलसा कुमारी थापा, जेठी नन्द दुर्गा थापा कार्की र कान्छी नन्द सीता थापालाई चितवन कारागार पठाइएको श्रेस्तेदार भट्टराईले जानकारी दिए ।
गत आइतबार सरकारी वकिलको कार्यालयबाट हत्यामा संलग्न रहेको भन्दै पाँचजना बिरुद्ध अभियोगपत्र दायर भएको थियो । अभियोगपत्रमा ससुरा प्रकाश र नन्द सितालाई आजिवन कैद, ज्वाई अरुण र अर्की छोरी दुर्गालाई २५ वर्ष कैद तथा सासु तुलसालाई साढे १२ वर्ष कैदको माग गर्दै अभियोगपत्र दायर भएको थियो । यस्तै जिल्ला अदालत मकवानपुरले सुस्मिता थापाको हत्या अभियोगमा संलग्न भएको र हाल फरार रहेको भन्दै ज्वाई अरुण कार्की बिरुद्ध पक्राउपुर्जी जारी गरेको छ ।
























