मनसुन थप सक्रिय अबको तीन दिन देशैभर झरी पर्ने
काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्र दर्के झरी परेको छ । मनसुनी वायु सक्रिय भएकाले देशभर झरी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अबको तीन दिन देशभर नै झरी पर्ने मौसमविद गंगा नगरकोटीले जानकारी दिएकी छन् । विशेष गरी काठमाडौँ उपत्यकाका बागमती, विष्णुमति, मनोहरासहितका नदी तथा खोलामा पानीको बहाव बढ्ने तथा बाढी आउने सम्भावना रहेको उनले बताइन् ।
पानीको निकास राम्रो नभएका क्षेत्रमा डुबान हुने भएकाले सतर्कता अपनाउन उनले आग्रह गरेकी छन् ।
यो वर्ष मनसुन निरन्तर सक्रिय रहेकोमा अहिले मनसुनी वायुको प्रभाव बढी रहेकाले देशभर झरी परेको हो । देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरो जान सक्ने, डुबान हुने र बाटो अवरुद्ध हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
























