नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुग्यो
काठमाडौं । कोरोना संक्रमणका कारण नेपालमा थप दुई जनाको मृत्यु भएको छ। पर्सा र धनुषाका दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या ४७ पुगेको हो। पर्सा वीरगञ्जका ६५ वर्षीय र धनुषाका ३८ वर्षीय पुरुषको मृत्यु भएपछि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको सम्बन्धित अस्पतालहरुले जनाएका छन्।
वीरगञ्जको आदर्श नगर निवासी भारतीय नागरिक ६५ वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए। पर्सामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार राति आएको रिपोर्टमा संक्रमण देखिएका धेरैजसो स्वास्थ्यकर्मी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उपाध्यायले बताए।
यस्तै धनुषाको शहीद नगरपालिका ८ का ३८ वर्षीय पुरुषको पनि मृत्यु भएपछि गरिएको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। अत्यधिक ज्वरो र रुघाखोकी लागेपछि उनी शनिवार प्रादेशिक अस्पताल पुगेका थिए।
अस्पतालले उनलाई आइसोलेशन कक्षमा भर्ना गरेपनि अवस्था बिग्रिँदै गएपछि अस्पतालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरेको थियो। तर धरान लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो। थप दुई जना सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ। यस अघि मृत्यु भएका ४५ जनामा कुनै न कुनै स्वास्थ्य समस्या देखिएको छ।
मृत्यु भएका मध्ये अधिकांशलाई कलेजोसम्बन्धी समस्या, निमोनिया,सेप्सिस, दीर्घ श्वासप्रश्वास, क्यान्सर, मिर्गौलासम्बन्धी रोग, मधुमेहलगायतका समस्या देखिएका छन्। धेरैको भने मृत्यु पछि मात्र स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको छ।
























